बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बार एशोसिएशनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण


    हुलाक प्रेस

    • शनिबार, वैशाख ६ २०८२०७:४३
    बार एशोसिएशनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण

    काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले आगामी तीन वर्षे कार्यकालको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

    एसोसिएसनको वार्षिक साधारण सभा (२०८०/०८१) तथा पदभार हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यले शनिबार शपथ ग्रहणसहित आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

    एसोसिएसनका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका हुन् । त्यस लगत्तै निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यले नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

    त्यसअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले उद्घाटन गरेको वार्षिक साधारणसभाबाट आर्थिक प्रतिवेदन तथा कार्यसमितिको प्रतिवेदन पारित भएको थियो ।

    वार्षिक साधारणसभालाई सम्बोधन गर्दै निवर्तनमा अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो ३ वर्षे कार्यकालमा कानुन व्यवसायीको शिर निहुरिने गरी कुनै पनि काम नगरेको बताए । उनले आफूविरुद्ध विचाराधीन ‘मानहानि मुद्दा’ व्यक्तिगत नभएकाले पनि प्रस्ट पारे । बार एसोसिएसनको अध्यक्षका रूपमा आफूले जिम्मेवारी निर्वाह गर्ने क्रममा मुद्दा झेल्नु परेको भन्दै उनले अभिव्यक्ति स्वतन्त्रतालाई ताला लगाउने हक कसैमाथि नभएको बताए ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले बार एसोसिएसनको आगामी कार्यभारबारे वरिष्ठ अधिवक्ताहरूको सम्मेलन बोलाएर सुझाव लिनेसम्बन्धमा योजना बनाएको चर्चा गरे । उनले बारमा राजनीतिक प्रभाव बढेको सम्बन्धमा चर्चा हुने गरेको भन्दै कानुन व्यवसायीले राजनीतिक दलको सदस्यता नै लिनु हुँदैन भन्नेबारे कसैले प्रस्ताव ल्याउँछ भने आपत्ति नहुने बताए । 


    प्रतिक्रिया दिनुहोस