काठमाडौँ । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन आजदेखि सुरु हुँदैछ । शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अधिवेशन सुरु हुने संसद् सचिवालयले जनाएको छ ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। अधिवेशनको प्रारम्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । समसामयिक विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्न लागेका हुन् ।
शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिका अभ्यासभन्दा एक साताअघि नै बर्खे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
विशेषगरि बर्खे अधिवेशनलाई बजेट अधिवेशनको रुपमा पनि बुझिन्छ । तर, यो अधिवेशनमा विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक पारित गर्नैपर्ने दवावमा सरकारले छ ।
शिक्षा विधेयक तत्काल ल्याउनु पर्नेसहितका माग राखेर शिक्षकहरु विगत २३ दिनदेखि आन्दोलनमा छन् । यस्तै कर्मचारीहरुले पनि निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब दिँदै आएका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् ।
यही वैशाख १९ गते संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्री बजेट’ छलफल वैशाख २८ देखि गर्ने तयारी छ । बजेट प्रस्तुत हुने १५ दिन अगावै प्री बजेट छलफल हुने कानुनी प्रावधान छ ।
संघीय संसद्का दुवै सदनमा गरी २० भन्दा बढी विधेयक विचाराधीन अवस्थामा छन् । अघिल्लो अधिवेशनमा नौ वटा विधेयक पारित भएका थिए ।