काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुने ‘सगरमाथा संवाद–२०२५’ मा सहभागी हुन आग्रह गरेका छन् ।
टर्कीको इस्तानबुलमा अप्रिल २१ देखि २३ सम्म आयोजित प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) को वार्षिक सम्मेलनमा सहभागी हुने क्रममा सिइओ जोशीले काठमाडौँमा हुने जलवायु परिवर्तन र दिगो भविष्यसम्बन्धी अन्तरराष्ट्रिय छलफलमा विश्वव्यापी नेतृत्व र विज्ञहरूलाई सहभागी हुन आमन्त्रण गर्नुभएको पर्यटन बार्डले जनाएको छ ।
सम्मेलनका क्रममा पर्टन बोर्ड र पाटाबीच साझेदारी सम्झौतासमेत सम्पन्न भएको बोर्डले जनाएको छ । जसअन्तर्गत ‘टुरिजम ह्वाइट पेपर’ निर्माण, संयुक्त फोरम स्थापनाका साथै संस्था सुदृढीकरणका कार्यक्रममा सहकार्य गरिनेछ ।
त्यसैगरी सिइओ जोशीले विश्व पर्यटन समुदायलाई विशेष अपिल गर्दै २०२५ जुन ३ देखि ५ सम्म काठमाडौँमै हुने हिमालयन ट्राभल मार्टमा पनि सहभागी हुन अन्तरराष्ट्रिय खरिदकर्ता र पर्यटन व्यवसायीलाई आग्रह गरेका छन् ।
उक्त मार्टमार्फत नेपालको विविध पर्यटन सम्पदाको प्रवद्र्धन गर्नुका साथै विश्वव्यापी सहकार्य सञ्जाल विस्तार गर्ने उद्देश्य राखिएको छ । “हिमालयन ट्राभल मार्ट केबल व्यापारिक भेला होइन, यो नेपालले दिनसक्ने अद्वितीय, अर्थपूर्ण र दिगो अनुभवहरूको उत्सव हुनेछ”, बोर्डको सिइओ जोशीले भने ।
‘सदाका लागि ज्ञान, भविष्यका लागि दिगोपन’ भन्ने मूल नाराका साथ सम्पन्न पाटाको वार्षिक सम्मेलनमा नेपालका तर्फबाट ‘दिगो भविष्य निर्माण’ विषयमा मन्तव्य दिँदै सिइओ जोशीले नेपालको इको–टुरिज्म मोडल, समुदाय–आधारित पर्यटन अभ्यास र प्रमुख दिगो पहलका बारेमा जानकारी गराएका हुन् । उनले नेपालको प्राकृतिक, सांस्कृतिक र सामाजिक विविधतामा आधारित पर्यटन विकासको दृष्टिकोणसमेत प्रस्तुत गरे ।