काठमाडौं । निजी क्षेत्रलाई खुशी बनाउन अर्थमन्त्री बिष्णु पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संसद्मा दुई वटा नयाँ विधेयक दर्ता गरेका छन् ।
पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१’ प्रतिनिधि सभामा र पाण्डेले पर्यटन सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् ।
मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधार लगायतका क्षेत्रको विकास गर्नुपर्ने भएकाले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक आवश्यक परेको अर्थ मन्त्रालयको भनाई छ ।
यो विधेयक पास भएपछि परियोजनाको पहिचान, प्राथमिकीकरण, लगानीका लागि आवश्यक पर्ने आन्तरिक स्रोत, स्वदेशी तथा वैदेशिक लगानी लगायतका वित्तीय उपकरणहरूको यथोचित प्रयोगमा सहयोग पुग्ने आशा राखिएको छ ।
निजी क्षेत्रलाई सार्वजनिक पूर्वाधार विकासमा आकर्षित गर्न र वर्तमान वित्तीय स्रोतको कमी पूर्ति गर्दै राष्ट्रिय प्राथमिकताका परियोजनाहरूमा स्रोत जुटाई मुलुकको समग्र आर्थिक विकासका लागि स्रोतको प्रवन्ध गर्न यो विधेयक ल्याइएको जनाइएको छ ।
पर्यटन विधेयकमा पर्यटन तथा क्यासिनो संघ र पर्यटन शुल्क स्थानीय तहको एकल तथा तीन वटै तहको साझा अधिकारको सूचीमा समावेश छ । यसबाट संवैधानिक व्यवस्थाहरूको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिने अवस्था नरहेकाले नयाँ विधेयक ल्याउनुपरेको जनाइएको छ ।