काठमाडौँ । नेपाल प्रहरीले नेपाली काँग्रेसकी सांसद माया राई पक्राउ परेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।
जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखाले सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउ गरिएकोबारे जानकारी गराएको हो। राईलाई गएराति काठमाडौँको कपनमा रहेको निवासबाटै प्रहरीले पक्राउ गरेको हो।
उनी स्वर्णलक्ष्मी बचत ऋण सहकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन्। भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन्।
पक्राउ परेकी राईमाथि कालिमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसूरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।
राईविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन् ।