आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • नाराजुलुससहित शिक्षकहरु सडक आन्दोलनमा, राजनीतिक दलका नेतालाई निषेध


    हुलाक प्रेस

    • सोमबार, वैशाख १५ २०८२०२:२९
    नाराजुलुससहित शिक्षकहरु सडक आन्दोलनमा, राजनीतिक दलका नेतालाई निषेध

    काठमाडौँ । शिक्षकको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी छ । सोमबार (वैशाख १५) शिक्षक नाराजुलुससहित सडकमा उत्रिएका छन् । 

    झडपक्रममा चोट लागेका शिक्षक पनि ब्यान्डेज बाँधेर प्रदर्शनमा सहभागी छन् ।

    उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘शिक्षकलाई सम्मान गर’, ‘शिक्षक कर्मचारी एक हौँ’, ‘शैक्षिक दलाल होसियार’ लगायत नारा लगाएका छन् । यस दिन शिक्षकले सरकारको चर्को विरोध गरेका छन् । उनीहरूले यसअघि रचनात्मक रूपमा प्रदर्शन गर्दै आएका थिए ।

    यस्तै यसअघि शिक्षक आन्दोलनका क्रममा एक्यबद्धता जनाउन गएकाहरुलाई स्वागत गरेका शिक्षकहरुले आजबाट भने राजनीतिक दलका नेताहरुलाई फर्काइदिएका छन् । सोमबार शिक्षक आन्दोलनमा एक्यबद्धता जनाउन गएका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनाललाई शिक्षकहरुले बोल्ने भए संसदमै गएर बोल्न यहाँ नआउन भन्दै फर्काएका हुन् ।

    नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षकले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ ।

    प्रदर्शनक्रममा आइतबार (वैशाख १४) शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । उनीहरूलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस