काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमको ठिक अघि उनलाई पक्राउ गरिएको हो ।
चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । ‘पहिलेको मुद्दामा कैद भुक्तान हुन बाँकी रहेको थियो र सर्वोच्च अदालतको आदेश अनुसार चौधरीलाई पक्राउ गरेका हौँ,’ उनले भने ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए ।
२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
तर आममाफीविरुद्ध सर्वोच्चमा रिट परेको थियो । आममाफीविरुद्ध परेको रिट सर्वोच्चमा विचाराधीन रहेकै बेला रेशम चौधरी पक्राउ पर्नु आश्चर्यको विषय बनेको छ । यसअघि २०८० जेठ २ गते सर्वोच्चले फैसलाको पूर्णपाठको आधारमा चौधरीलाई पक्राउ गर्ने आधार भेटिदैन । तर सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अबस्थामा चौधरीलाई किन पक्राउ गर्न भन्यो भन्ने विषय अनुत्तरित छ ।
सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भएको थियो । सो घटनामा परी तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
तर चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । कडायत टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् ।