आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदै


    हुलाक प्रेस

    • बिहीबार , वैशाख १८ २०८२०९:४७
    रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदै

    काठमाडौँ । वर्षा र सहकालको देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ तानेर आज पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदैछ । 

    रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा १६८२ वर्ष पुरानो मानिन्छ । अक्षय तृतीयको भोलिपल्टबाट रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु हुन्छ । 

    मच्छिन्द्रनाथलाई आज पाटनको पुल्चोकबाट तानेर गाबहाल पुर्याइने छ भने त्यसको पर्सि पल्ट गाबहालबाट तानेर मंगलबजार सम्म पुर्‍याउँने परम्परा रहेको यो जात्राको विषयमा जानकार प्रकाश अवालेले जानकारी दिए । 

    रातो मच्छिन्द्रनाथको रथलाई तानेर जहाँ पुर्‍याइन्छ सोही क्षेत्रमा जात्रा मनाउने परम्परासमेत छ । मंगल बजारबाट सुन्धारा हुँदै नगरका विभिन्न क्षेत्रमा तान्दै रथलाई लगनखेलमा पुर्याइन्छ । रातो मच्छिन्द्रनाथको रथलाई लगनखेल पुर्‍याएको चौथौ दिनमा नरिवल खसाल्ने जात्राको रूपमा मनाउने परंपरा छ । 

    नरिवल खसाल्ने जात्रालाई पनि ऐतिहासिक जात्राको रूपमा लिने गरिन्छ । नरिवल खसाल्ने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको रथलाई महिलाहरूले मात्र तान्ने परम्परा छ। यसलाई एकल महिला जात्रा पनि भन्ने गरिन्छ । 

    रथलाई महिलाहरूले तानेर इतिस्टोलको चार दोबाटोमा पुर्‍याइने छ । इति स्टोलमा मच्छिन्द्रनाथलाई राखेको चार दिनमा पाटन दरबार स्क्वायरको फल्चामा बसेर ज्योतिषहरूबाट दिन हेर्ने प्रचलन छ ।

    त्यसपछि शुभ साइत पारेर रातो मच्छिन्द्रनाथको रथलाई पाटनको इतिस्टोलबाट तानेर ज्याउलाखेल पुर्याउने परम्परा छ । ज्याउलाखेल पुर्‍याएको चौथौ दिन राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने प्रचलन छ । 


    प्रतिक्रिया दिनुहोस