शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने


    हुलाक प्रेस

    • शुक्रबार, वैशाख १९ २०८२०५:४७
    सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने

    काठमाडौं । सरकारले सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गर्ने घोषणा गरेको छ ।

    शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराए ।

    उनले दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गरिने उल्लेख गरे । हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रमहरू सञ्चालन गरिने घोषणा समेत गरे ।

    राष्ट्रपति पौडेलले क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गर्ने जानकारी दिँदै पाठेघर क्यान्सरको एचपीभी खोप र १४ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा उपलब्ध गराइने घोषणा गरे । उनले मस्तिष्क, मेरुदण्ड, मानसिक र स्नायु रोग उपचारका लागि काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिने जानकारी समेत दिए ।

    “सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा बिस्तार गरिनेछ । दुर्गम क्षेत्रमा विशेषज्ञ सेवाहरू सञ्चालन गरिनेछ । हरेक वर्षको फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गरी कार्यक्रमहरू सञ्चालन गरिनेछ । क्यान्सर तथा मिर्गौला प्रत्यारोपण उपचारको सेवा प्रदेशस्तरमा विस्तार गरिनेछ, राष्ट्रपति पौडेलले भने ।

    उनले स्वास्थ्य क्षेत्रका जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताए । साथै, उत्पीडित तथा सीमान्तकृत समुदायलाई चिकित्सा शिक्षामा आरक्षणको व्यवस्था गरिने उनले घोषणा गरे ।


    प्रतिक्रिया दिनुहोस