बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • संवैधानिक परिषद्सम्बन्धी विधेयक स्वीकृत


    हुलाक प्रेस

    • आइतबार, वैशाख २१ २०८२०४:५५
    संवैधानिक परिषद्सम्बन्धी विधेयक स्वीकृत
    काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
         
    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत भएको सभाअध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।
     
    यसअघि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले परिषद्को बैठक तत्काल बहाल रहेका कम्तिमा ५० प्रतिशत सदस्यको उपस्थितिमा कोरम पुगेको मानेर निर्णय गर्ने प्रावधान विधेयकमा राखिएको छ । उनका अनुसार तत्काल बहाल रहेका सबै परिषद् सदस्य उपस्थिति हुनुपर्ने व्यवस्था कायमै रहेको छ ।
     
    यसमा सबै सदस्य उपस्थिति नभएमा वा उपदफा ६ बमोजिम सर्वसम्मति कायम गर्न नसकेका खण्डमा अर्को बैठक बोलाउने र उक्त बैठकमा अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्य उपस्थिति रहेका खण्डमा निर्णय गर्ने प्रबन्ध गरिएको छ । 
     
    परिषद्को बैठकमा सबै सदस्य उपस्थित नभएमा निर्णय गर्न दफा ७ को व्यवस्था गरिएको छ । मन्त्री गुरुङले विधेयकलाई प्रक्रियामा लगेर व्यापक छलफल गरी चाँडो टुङ्ग्याउन अनुरोध पनि गरे । 
     
    उक्त विधेयक प्रतिनिधिसभमा उत्पत्ति भएर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारितभएपछि राष्ट्रियसभामा पेस भएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।  
         
    विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा वेदुराम भुसालले विधेयकमा परिषद्को गणपूरक सङ्ख्या कति हुने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने बताए । उनले यस विषयलाई समितिमा लगेर सरकारकोतर्फबाट छलफल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । 
     
    सांसद मृगेन्द्रसिंह यादवले विधेयकका विषयमा समितिमा लगेर बृहत् छलफल गर्नुपर्ने भनाइ व्यक्त गरे । सांसद मायाप्रसाद शर्माले केही विषयहरु अस्पष्ट भएकाले समितिमा नै पठाएर छलफल गरे सार्थक हुने बताए । 
     
    सांसद गङ्गाकुमारी बेलवासेले प्रतिनिधिसभाले छलफल गरेको विषयवस्तु सार्थक भएको तर ५० प्रतिशत भन्ने विषयवस्तुलाई अझ बृहत् छलफल गर्न आवश्यक रहेको बताइन् ।
     
    बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिबाट प्राप्त सन्देशहरु सभासमक्ष टेबुल गरे । 
     
    प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।  रासस


    प्रतिक्रिया दिनुहोस