काठमाडौं । ललितपुरमा गएराति मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा दुर्घटनामा परेको छ । ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार सातदोबाटोमा सडकमा रहेको पोलमा गाडी ठोक्किन पुगेको पाइएको छ ।
उनले दिएको जानकारीअनुसार अहिले उक्त क्षेत्रमा ११ हजार भोल्टको बिजुलीको तार रहेको हुँदा र पोल जोखिममा रहेका कारणले एकतर्फीमात्रै बाटो खुला गरिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । अमरध्वज पौडेल, विशाल विक र मुकेश लामिछाने घाइते रहेका छन् ।
ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार बा १५ च ७६५२ नम्बरको कार दुर्घटनामा परेको हो । कारलाई रुपक सापकोटाले चलाएका थिए । चालकले मापसे गरेको पाइएको ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार चालकले मापसे गरेर गाडी चलाएको पाइएकाले नियन्त्रणमा लिएर छानबिन गरिरहेको जानकारी दिए ।