काठमाडौं । हुलाक बचत बैंकको ५ करोड ३५ लाख रकम हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख र बचत बैंक हेर्दै आएका नासुसहित ६ जनाविरुद्ध मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा २०६० सालदेखि हुलाक बचत बैंक हेर्दै आएका नासु बलीरामप्रसाद कुर्मी, बारा जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव र सुजितकुमार साहमाथि ५ करोड ३५ लाख ६४ हजार २७९ रूपैयाँ बिगो दाबी माग गर्दै मुद्दा दायर गरेको हो ।
उनीहरुले हुलाक बचत बैंकको रकमदैनिक नगदी रजिष्टरमा नजनाई, अभिलेख राखे नराखेको नहेरी, कार्यालयमा प्रविष्टि गरे नगरेको चेकजाँच नगरी, कार्यालयमा अभिलेख नराखी, बैंक दाखिला भए नभएको समेत जाचँबुझ/चेकजाँच नगरी/नगराई, बचत रकमको प्रमाणिकरण नगरी नगराई, केन्द्रीय कार्यालयमा समेत जानकारी नगराई फाटँवाला बलीराम प्रसादको मिलेमतोमा बचतकर्ताहरुको बचत हुनुपर्ने रकम आपसमा बाँडफाँड गरी मिलोमतोमा रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेकाले अख्तियारले मुद्धा दायर गरेको जनाएको छ ।