काठमाडौं । काठमाडौंको बागबजारमा एक महिलाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका घर भई तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ ।
नुवाकोट घर भइ काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ गत चैत २९ गते बागबजारको एक गेष्ट हाउसमा मृत फेला परेकी थिइन् ।
शव फेला परेपछि उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा पन्त उनीसँगै गेस्ट हाउसमा बसेको र उनी फरार भएपछि प्रहरीले उनको खोजी गरेको थियो ।
पन्तलाई प्रहरीले मंगलबार काठमाडौं आउँदै गरेको अवस्थामा नागढुंगाबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।