काठमाडौँ । १३ विदेशी हवाइ सेवा प्रदायक कम्पनीले २ अर्ब ३१ करोड कर छली गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
यात्रुलाई टिकट बिक्री गरी रकम उठाएको तर सरकारको कोषमा दाखिला नभएकोले महालेखापरीक्षकको कार्यालयको ६२औँ वार्षिक प्रतिवेदनले छानबिन गर्न भनेको हो ।
हवाइ सेवामा आयकर ऐन, २०५८ को दफा ७० मा नेपालबाट प्रस्थान हुने यात्रुहरुको ओसारपसार गर्दा ५ प्रतिशत र नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाइ यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त विवरणअनुसार १३ गैरबासिन्दा हवाइ कम्पनीले २०८०/८१ मा विभिन्न गन्तव्यमा नेपालबाट उडान भर्दा कर दाखिला नगरेका हुन्। यसअनुसार २ अर्ब ३१ करोड रुपैयाँ कर पहिलो गन्तव्यसम्मको मात्र गणना गरिएको उल्लेख गर्दै महालेखाले अन्तिम गन्तव्यसम्मको भाडासमेत एकीन गरी कर निर्धारण गर्नुपर्ने जनाएको छ ।
कुन कम्पनीले कति छले कर?
महालेखाको प्रतिवेदनअनुसार १० देशका १३ एयरलायन्सले कर तिरेका छैनन्। महालेखाले नाम किटान नगरे पनि अधिकांश देशमा एउटा मात्रै विदेशी एयरलायन्स कम्पनीले उडान गर्दै आएका छन्।
महालेखाका अनुसार साउदी अरब उडान गर्ने एयरलाइन्सले १ लाख ३ हजार १४ यात्रु उडान गर्दा १७ करोड ९७ लाख रुपैयाँ तिर्नुपर्ने देखिएको छ। नेपालबाट साउदी अरबसम्म एयर अरेबियाले नियमित उडान गर्दै छ।
सिंगापुर उडान गर्ने एयरलाइन्स कम्पनीले ५५ हजार ७३९ यात्रु उडान गरेकोमा १६ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्ने छ। सिंगापुर एयरलाइन्सले यो गन्तव्यमा दैनिक उडान गरिरहेको छ।
त्यसैगरी दुबई उडान गर्ने २ एयरलाइन्सले २ लाख २० हजार ७३५ यात्रुले उडान गर्दा ८८ करोड १ लाख रुपैयाँ कर तिर्न बाँकी छ। काठमाडौं–दुवईको गन्तव्यमा फ्लाई दुवईले नियमित उडान गरिरहेको छ।
प्राधिकरणका अनुसार इत्तेहादले ‘अफलाइन’ उडान गरे पनि नियमित उडान गर्दैन।
त्यस्तै, भुटान उडान गर्ने २ एयरलायन्सले ३४ हजार ९३७ यात्रुलाई सेवा दिँदा ४ करोड ९६ लाख रुपैयाँ कर भुक्तानी गरेका छैनन्। भुटान एयरलायन्स र ड्रुक एयरले काठमाडौं–भुटान नियमित उडान गर्छन्।
टर्की उडान गर्ने एक एयरलाइन्स कम्पनीले ४५ हजार १८६ यात्रु बोक्दा १५ करोड ६५ लाख कर छलेका छन्। टर्किस एयरलायन्सले काठमाडौं–इस्तानबुल उडान गर्छ।
यता मलेसिया उडान गर्ने २ एयरलाइन्स कम्पनीले १ लाख १७ हजार ८७१ यात्रुलाई सेवा दिँदा १९ करोड २१ लाख कर छली गरेका छन्। मलेसिया एयरलाइन्स र बटिक एयरले काठमाडौं–मलेसिया उडान गरिरहेका छन्।
श्रीलंका उडान गर्ने एक एयरलायन्सले २६ हजार ५५४ यात्रु उडान गर्दा ९ करोड १८ लाख रुपैयाँ कर तिर्न बाँकी छ। त्यस्तै, श्रीलंकन एयरलाइन्सले उडान गरिरहेको छ।
हङकङ उडान गर्ने एयरलायन्सले ५८ हजार १७५ यात्रु उडान गरेकोमा ३६ करोड ९४ करोड रुपैयाँ राजस्व तिर्नुपर्ने छ। काठमाडौं–हङकङ क्याथे प्यासिफिक एयरलाइन्सले उडान गरिरहेको छ।
कुवेत उडान गर्ने एयरलाइन्स कम्पनीबाट ९६ हजार ८७५ यात्रुले सेवा लिएका थिए। उक्त कम्पनीले २१ करोड ९ लाख रुपैयाँ कर तिर्न बाँकी छ। ओमान उडान गर्ने एयरलाइन्सले ६ हजार ८२ यात्रु उडान गर्दा १ करोड ७३ लाख रुपैयाँ राजस्व नतिरेको औँल्याइएको छ। कुन एयरलाइन्सको उडान गर्दा कर छली भएको प्रतिवेदनमा स्पष्ट छैन।
महालेखाले अघिल्ला प्रतिवेदनमा समेत प्रश्न उठाउँदै आएको थियो। ६१औं प्रतिवेदनमा पनि चीन उडान गर्ने २ कम्पनी, अंकारा उडान गर्ने एक र कुवेत उडान गर्ने एक कम्पनीले २५ करोड ६५ लाख रुपैयाँ कर नतिरेको औँल्याइएको थियो।
६०औँ प्रतिवेदनमा पनि साउदी अरब, सिंगापुर, दुबई, कुवेत, इस्तानबुल, भुटान उडान गर्ने कम्पनीले ७१ करोड ५ लाख रुपैयाँ कम दाखिला गरेको औँल्याइएको थियो।