शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • पछिल्लो २४ घण्टाको विपद्मा ४ जनाको मृत्यु, २८ जना घाइते


    हुलाक प्रेस

    • शनिबार, जेठ ३ २०८२१०:४८
    पछिल्लो २४ घण्टाको विपद्मा ४ जनाको मृत्यु, २८ जना घाइते

    काठमाडौं । विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा देशभर चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

    प्रि-मनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एकजना घाइते भएका छन् ।

    उनका अनुसार शुक्रबारदेखि आजको २४ घण्टाको अवधिमा ५० जिल्लामा ९४ वटा विपद्का घटना भएको छन् ।

    ती घटनाहरूबाट एक करोड आठ लाखको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जानकारी गराएको छ । ती घटनाबाट दुईवटा पशु चौपायसमेत मरेका छन् । प्राधिकरणबाट प्राप्त विवरणमा सबैभन्दा बढी हावाहुरीका ५९ र आगलागीका १६ वटा घटना भएका छन् ।

    अन्यमा चट्याङ, पहिरो, बाढी, अविरल वर्षाका घटना भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही स्थानहरूमा गर्मीका कारण तथा केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिजोको तुलनामा आज भने केही मौसम खुले पनि बदली भने कायम रहेको छ ।

    हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेका जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आगामी २४ घण्टा केही स्थानहरूमा गर्मीका कारण तथा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।


    प्रतिक्रिया दिनुहोस