काठमाडौँ । न्युयोर्क सहरको ब्रुकलिन ब्रिजमा ठोकिएपछि मेक्सिकन नौसेना प्रशिक्षण जहाजमा क्षति पुगेको छ । यो जहाज त्यहाँ विशेष कार्यक्रमका लागि गएको थियो ।
शनिबार साँझ जहाज यस पुलमुनिबाट गइरहेका बेला विशाल मस्तुल (जहाजमा रहेको अग्लो खम्बा) पुलमा ठोकिएको भिडिओ सार्वजनिक भएको छ । रिपोर्टअनुसार, ठोकिएपछि जहाजको मस्तुलको केही भाग भाँचिएर जहाजमा खसेको थियो र अमेरिकी मिडियाले धेरै जना घाइते भएको रिपोर्ट गरेको छ ।
न्युयोर्क सहरको आपत्कालीन व्यवस्थापन एजेन्सीले उद्धार जारी रहेको बताएको छ तर थप विवरण दिएको छैन । मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ। घटनाको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।