काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, बाथमतफ नगरपालिका सर्लाहीका निलम्बित मेयर भरत कुमार थापा उप प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले उनीहरुमाथि सागरनाथ वन परियोजनाको ढुंगा, गिटी बालुवा गैरकानूनी रुपमा उत्खनन गरी माछापोखरी निर्माणका नाममा भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्धा दर्ता गरेको हो ।
अख्तियारले मधेश प्रदेशको अर्थ मन्त्रालयका कानून अधिकृत गोकुल भुजेल, बागमती नगरपालिकाका इञ्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल, नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेल विरुद्ध पनि मुद्दा दायर गरेको छ ।
निर्माणका लागि वातावरणीय अध्ययन नगरेको, खरिदका लागि बजेट सुनिश्चितता नगरेको अनि माछापालन सम्बन्धी कुनै अध्ययन नगराएको र वाग्मतीको पानी प्रयोगका लागि कुनै स्विकृती नलिएको भन्दै अख्तियारले निर्माणमा संलग्नमाथि प्रश्न गरेको छ ।
वन ऐन उल्लंघन गरेर कसुर गरेकाले सबै संरचनाहरु जफत हुने अवस्था देखिएको र त्यसबाट त्यहाँ निर्माण भएका संरचना प्रयोजनविहीन हुने भन्दै अख्तियारले ‘सरकारी लगानीको प्रतिफल शून्य हुने अवस्था देखिएको’ निष्कर्ष निकालेको जनाएको छ ।
आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म ५६ करोड ७१ लाख रुपैयाँ निकासा भएको र त्यसको कुनै प्रतिफल नहुने अख्तियारले निष्कर्ष निकालेको छ ।
मेयर थापा यसअघि पनि भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका छन् । मेयर र उपमेयर माओवादी केन्द्रका हुन् भने पूर्वअर्थमन्त्री यादव जसपा नेपालका हुन् ।