काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिम, बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसमेत ४ जना र निर्माण कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
आयोगले बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली, गाउँपालिकाका प्राविधिक दल बहादुर ओली, लेखापाल महेन्द्र शर्मा, पिपलकाँडा मेलगैरी सडक योजना निर्माण गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा छेडागाड जाजरकोट र सो का प्रोपाइटर शान्त बहादुर बस्नेत विरुद्ध विषेश अदातलतमा बिहिबार मुद्धा दायर गरेको हो ।
आयोगले आ.व. २०७९.८० मा रुकुम पश्चिम पिपलकाँडा मेलगैरी सडक निर्माण योजनामा झुट्टा एवं गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गरी लागतखर्च भन्दा २१ लाख ६३ हजार बढी भुक्तानी गरि मिलोमतोमा आर्थिक हिनामिना गरेको आरोप लगाएको छ ।
आयोगले फिल्डमा २९०० मिटर मात्र बाटो निर्माण भएकोमा नापी किताबमा ३७०० मिटर उल्लेख गरी फिल्डमा भएको काम भन्दा बढी सड्क निर्माण भएको भनी नापी किताब तयार गराएको पनि आरोप लगाएको छ ।