काठमाडौँ । प्रहरीले चैत १५ गते भएको तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।
तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएको घटनामा प्रहरीले अनुसन्धान प्रतिवेदन पेश गरेको हो ।
प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय सहित प्रतिवेदन पेश गरेको छ ।
राजावादी प्रदर्शनमा क्रममा आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गएको थियो । यसैगरि आगजनीका कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो ।
उक्त घटनापछि अहिले प्रहरी परिसरमा ५३ जना प्रहरी हिरासतमा छन्। २६ जनामाथि राजद्रोह र संगठित अपराध र २७ जनामाथि आपराधिक उपद्रव कसुरमा प्रहरीले अनुसन्धान गरेको छ । प्रदर्शनस्थलमा अवान्छित गतिबिधी गरेको आरोपमा १८६ जना पक्राउ परेका थिए भने तीमध्ये ९६ जनालाई सुरुमै रिहा गरिएको थियो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई प्रहरीले हाजिर जमानीमा छाडेको छ ।