काठमाडौं । गृह मन्त्रालयले अध्यागमन कार्यालयमा कार्यरत ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो ।
विमानस्थल अध्यागमन कार्यालयमा खटिएका ६ जना नायब सुब्बाहरूलाई मन्त्रालयमा तानिएको एक अधिकारीले बताए । भिजिट भिसा प्रकरणबारे मन्त्रालयबाट समेत छानबिन भइरहेकाले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो ।
आयोगले विमानस्थल अध्यागमनमा आयोगले दुई दिनअघि छापा मारेर महत्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो भने अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । दिनभर आयोगमा केरकार गरेर साँझ उनलाई भोलिपल्ट उपस्थित हुने गरी छाडिएको थियो ।