शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • भिजिट भिसा प्रकरणमा गृहले भन्यो- कुनै संलग्नता छैन, छानबिनमा सघाउँछौं


    हुलाक प्रेस

    • शनिबार, जेठ १० २०८२०८:३३
    भिजिट भिसा प्रकरणमा गृहले भन्यो- कुनै संलग्नता छैन, छानबिनमा सघाउँछौं

    काठमाडौं । गृह मन्त्रालयले कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ ।

    गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको शंका गरिएको छ ।

    उक्त प्रकरणमा गृहमन्त्रालय र मन्त्री लेखकप्रति जोडेर आएका समाचारप्रति आपत्ति जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।’

    मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका निम्ति नीतिगत तथा संस्थागत सुधारका कार्यहरू समेत गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    त्रिवि विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीबारे अनुसन्धान पूरा भएपछि सत्यतथ्य ब्यहोरा बाहिर आउने उल्लेख गर्दै विज्ञप्तिमा छानबिन र अनुसन्धानमा पूर्ण सहयोग हुने बताइएको छ ।

    यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीतर्फ पनि अनुसन्धान सोझ्याएको छ ।

    आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । विमानस्थल अध्यागमनबाट हटाइएकाहरूमध्ये अधिकांश नायब सुब्बा छन् ।

    कतिपय अधिकारीहरूले अख्तियारको अनुसन्धान चलिरहेका बेला ती कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको बताएका छन् ।


    प्रतिक्रिया दिनुहोस