धनगढी । कमिसनको प्रभाव र दलालको दबाबमा सरकार सार्वजनिक यातायातलाई ध्वस्त बनाउन खोजेको यातायात व्यवसायीहरूले बताएका छन् ।
निजी सवारीसाधनले यातायातको काम गर्न नमिल्ने सवारी तथा यातायात व्यवस्था ऐनको व्यवस्थासँग बाझिने गरी दलालहरूको उक्साहटमा सरकारले नियमावली जारी गरेको मजदुर नेता भीम ज्वाला राईले बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन एयरपोर्ट ट्याक्सी इकाई कमिटीको दोस्रो अधिवेशनका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष राईले कमिसनकै प्रभाव र दलालहरूको दबाबमा रातो नम्बर प्लेटका दुई चक्के र चार चक्के सवारीलाई यात्रु बोक्न सक्ने गरी गण्डकी लगायतका प्रदेश सरकारले नियमावली जारी गरिरहेको र सार्वजनिक सवारीसाधनमा मात्रै लागु हुने गरी बिस वर्षे नीति लागु गरेकोमा राईले आपत्ति जनाए ।
सङ्घीय कानुनसँग बाझिने गरी प्रदेश सरकारले कानुन बनाउन नमिल्ने यदि बाझिने गरी कानुन बनाए बाझिएको हदसम्म त्यस्ता कानुनहरू अमान्य हुने संवैधानिक व्यवस्था विरुद्ध सवारी तथा यातायात ऐन २०४९ सँग बाझिने गरी गण्डकी प्रदेश सरकारले नियमावली जारी गरेको र अन्य प्रदेशहरूले पनि त्यसलाई अनुसरण गरिरहेको अवस्थामा दुवै तहका सरकार प्रलोभनका कारण मौन रहेको राईले बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष राईले सवारी ऐन संशोधनको प्रक्रियामा रहेको भए पनि लगानीकर्ताहरू र श्रमिकका प्रतिधीहरू सरोकार र माग मुद्दाका विषयमा चासो नराखेको प्रमुख अतिथि राईले बताए । संविधान विरोधी ऐन नियमावलीहरू तत्काल खारेज गर्न आग्रह गर्दै यदि खारेज नभए व्यवसायी तथा मजदुरहरू संयुक्त रूपमा सडकमा जाने राईले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रहरीका एसएसपी प्रकाश मल्ल, जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश संयोजक टेकराज जोशी, सङ्गठन प्रदेश अध्यक्ष ललित चन्द, सुन्दर सुदूरपश्चिम यातायात प्रा.ली का अध्यक्ष पदमराज सापकोटा, सङ्गठन बागमती प्रदेश अध्यक्ष शङ्कर थापा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनले भानदेव पनेरुको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्ष कृष्ण खड्का, सचिव गणेश खत्री, सहसचिव तेजबहादुर थारु, कोषाध्यक्ष गोविन्द खत्री चयन गरेको छ । त्यस्तै सदस्यहरूमा राजु खत्री, चक्र चौधरी, पुष्पराज ओझा, भागिराम राना, अजब चौधरी र दीपक बस्याल सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा अध्यक्ष राईलाई गतिशील नेताका रूपमा सम्मान गरिएको छ । श्रम आन्दोलनका गतिशील ज्वाला मजदुर आन्दोलनसँगै पत्रकारिता, साहित्य र सामाजिक विभेद र असहायहरूको सेवामा समर्पित रहेको भन्दै सम्मान गरिएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन एयरपोर्ट इकाई धनगढीको दोस्रो अधिवेशनको अवसरमा सम्मान गरिएको हो । राईलाई नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका एसएसपी तथा कार्यक्रमका विशिष्ट अतिथि प्रकाश मल्लले सम्मान गरेका हुन् ।
सो अवसरमा राई सहित जिफन्ट प्रदेश अध्यक्ष जितबहादुर मल्ललाई कुशल सङ्गठन सम्मान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश संयोजक टेकराज जोशीलाई दूरदर्शी व्यवसायी नेतृत्व सम्मान र सुन्दर सुदूरपश्चिम यातायात प्रा .लि का अध्यक्ष पदमराज सापकोटालाई संरक्षक सम्मानबाट विभूषित गरिएको हो ।
सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । भानदेव पनेरुको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन रामसिंह महराले गरेका थिए ।