काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका-७ मैनाटारमा बिच्छीले टोक्दा बालिकाको मृत्यु भएको छ ।
स्थानीय ८ वर्षीया अस्मिता वाइबालाई गत बुधबार साँझ ६ बजेतिर आफ्नै घरमा नुहाएपछि लुगा फेर्ने क्रममा बायाँ कम्मरको भागमा बिच्छीले टोकेको थियो ।
सुरुवातमा सामान्य देखिए पनि भोलिपल्ट बिहीबार दिउँसो २ बजेदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले उनलाई त्यही साँझ ७:४५ बजे हेटौँडा अस्पताल पुर्याएका थिए ।
अस्पतालमा उपचारका क्रममा डाक्टरहरूले उनको अवस्था गम्भीर रहेको बताएका थिए । उपचारकै क्रममा बिहीबार राति ८:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हात्तिसुडेबाट प्रहरी नायब निरीक्षक जनक बहादुर तामाङको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।