काठमाडौँ । शनिवार बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्रपथ घेराउपछि यातायात मजदुर व्यवसायीहरूले यो कार्यक्रम काष्टिङ मात्रै रहेको बताएका छन् ।
कोटेश्वरमा एक घण्टे कार्यक्रमको समापन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आजको कार्यक्रम कास्टिक मात्रै हो असली चलचित्र जेठ १९ गतेबाट सुरु हुने बताए । गौतमका अनुसार सरकारसँगको धेरै पटकको छलफल र संवादपछि पनि समस्याको समाधान नभए पनि सात बुँदे माग पत्र सहित आन्दोलनमा उत्रनु परेकाले यो आन्दोलन यातायात मजदुर व्यवसायीको निर्णायक आन्दोलन हुने बताए ।
कोण सभालाई सम्बोधन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले चक्रपथ घेराउ कार्यक्रम अभूतपूर्व रूपमा सफल भएको बताउँदै जेठ १९ गतेदेखि सम्पूर्ण सवारीसाधनहरू पूर्णरुपमा नचल्ने बताए उनले भने १८ गते (भोली) साढे ११ बजे माइतीघर मण्डलामा यातायात मजदुर व्यवसायीहरूको हजारौँको सभा गरिने र १९ गतेदेखि सम्पूर्ण सवारीसाधनहरू घर ग्यारेजमै थन्क्याउने बताए ।
आजको आन्दोलन पहिलो चरणको भएको र कालो भण्डा सहित सडकमै सवारीसाधनहरू तेर्स्याएर विरोध जनाइएको थियो ।
सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति निर्माण गरेर सात वटै प्रदेशबाट आन्दोलन थालेको यातायात मजदुर व्यवसायीहरूको आन्दोलनको अगुवाइ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, र नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले गरिरहेको छ ।
शनिवार कोटेश्वर सहित एयरपोर्ट स्वर्ण गेट आसपास, गौशाला, चाबहिल, नयाँ बसपार्क, कलङ्की, सात दोबाटो लगायतका महत्त्वपूर्ण क्षेत्रमा व्यवसायी मजदुरहरूले स्वतःस्फूर्त सवारीसाधनहरू सडक किनारको बायाँ साइडमा सवारीसाधनहरू खडा गरेका थिए ।
मजदुर व्यवसायीहरूले सरकारसँग हालको नीतिगत सुधारको माग गरेका छन् ।
मागहरू निम्न रहेका छन् ।
१) सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी सङ्घीय ऐनसँग बाझिने गरी सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ साल जेठ १ गते जारी गरेको राजपत्रमा निजी सवारी साधन (रातो नम्बर प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को ‘ज’ तत्काल खारेजीको माग गर्दछौ ।
२)सम्मानित सर्वोच्च अदालतबाट सङ्घ संस्था दर्ता ऐन २०३४ मा रहेका सङ्घ समिति नवीकरण सम्पत्ति फुकुवाको मिति २०८० चैत २० गतेको परमादेश तत्काल कार्यान्वयनको माग गर्दछौँ ।
३)सवारी ऐन २०४९ संशोधनको क्रममा रहेको हुँदा नेपाल सरकार सँग यातायात व्यवसायी महासङ्घहरू र मजदुर सङ्घ सङ्गठन हरूसँग विभिन्न मितिमा भएको सम्झौता सहमति हरू र नेपाल सरकारबाट गठित विभिन्न कार्यदलका सुझाव प्रतिवेदनहरू यथाशीघ्र कार्यान्वयनको माग गर्दछौँ ।
४)मालवाहक सवारी साधनको भार वहन नियमन सम्बन्धी निर्देशिका २०७४ को दफा १३ अनुसार स्वदेशी तथा विदेशी सवारी साधनको भार वहन क्षमता कडाइका साथ लागु गर्न माग गर्दछौँ ।
५)सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्न माग गर्दछौ ।
६)बिमा दर निर्देशिका २०७३ लाई समयानुकूल संशोधन गरी दुर्घटना क्षतिपूर्ति तथा उद्धार, राहतको लागि दुर्घटना राहतकोको स्थापना गरी ढुवानी ऐन लागु गरी माल बस्तुमा अनिवार्य बिमा गर्ने नीति बनाई यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित उपभोक्ता,मुखी, प्रविधि मैत्री बनाउन अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न माग गर्दछौँ ।
७)छिमेकी मुलुकहरूबाट नेपाल प्रवेश गर्दा मालवाहक तथा यात्रुवाहक सवारी साधनले नेपालको भन्सार नाकामै ७२ घन्टे सुविधा पाउने असमान नीति भएकोले तत्काल संशोधनको माग गर्दछौँ ।