काठमाडौं । दुई दशकदेखि घरजग्गा तथा अपार्टमेन्ट निर्माण र सजावटको काम गर्दै आएको आरभी ग्रुपले राजस्व छली गरेको आन्तरिक राजस्व विभागको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उक्त ग्रुपले राजस्व छली गरेको उजुरी तथा विभाग आफैँले पनि शंकास्पद कारोबार गरेको आशंकामा छानबिन सुरु गरेको स्रोतको दाबी छ । यद्यपि, छानबिन प्रारम्भिक चरणमै रहेको कारण कति कर निर्धारण गर्ने र जरिवाना लगाउने भन्ने बारेमा यकिन भइसकेको छैन । तर, आरभी ग्रुपले वास्तविक कारोबार लुकाएर कर छली प्रयोजनका लागि अर्कै विवरण कर कार्यालयमा बुझाउने गरेको देखिएको छ ।
विभाग स्रोतका अनुसार उक्त कम्पनीको हिसाबको बारेमा अहिले फुल अडिट सुरु गरिएको छ । फुल अडिटमा एक–एक गरेर आम्दानी तथा खर्चको विवरण तथा उसले बुझाएको सबै किसिमको करको विवरणका बारेमा छानबिन/अनुसन्धान भइरहेको छ । विभागले अबको दुई हप्ताभित्र सबै छानबिनको रिपोर्ट तयार गरेर के गर्ने भन्ने निर्णय गर्नेछ ।
उजुरुकर्ताले भने उक्त आरभीको विषयमा छानबिनका लागि आन्तरिक राजस्व विभागको अतिरिक्त राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लगायतमा ताकेता गरेको स्रोतको दाबी छ । तर, एउटा सरकारी निकायले छानबिन सकेर अर्को निकायलाई यी–यी विषयमा छानबिन गर्नका लागि सिफारिस/अनुरोध गरेपछि त्यसको बारेमा थप छानबिन हुन्छ । तर, आन्तरिकबाहेक अन्य सरकारी निकायले सो कम्पनीको बारेमा उजुरी परेको कारण निगरानी भने बढाएको स्रोतको दाबी छ ।
आरभी ग्रुपअन्तर्गतका कम्पनीहरू युरेसियन इन्फ्रा, टाइम्स डेभलपर्स, आरभी इन्भेस्टमेन्ट र माउन्टेन भ्यु (कार्यविनायक होम्स)लगायतका कम्पनीहरूको कारोबार शंकास्पद भेटिएको स्रोतको दाबी छ ।
अडिटका क्रममा कैफियत फेलापरे विस्तृत अनुसन्धान हुने आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले बताएका छन् । आरभी ग्रुपले राजस्व छली गरी आर्जन गरेको रकम हुन्डीमार्फत भारतमा पठाई त्यहाँ आफन्तको नाममा आर भी इन्फ्राटेक एन्ड स्टक्चर्स कम्पनीमा लगानी गरेको भनेर उजुरी परेको बताइएको छ । तर त्यहाँसम्म अनुसन्धान पुगिनसकेको स्रोतको दाबी छ ।