काठमाडौँ । पछिल्लो वर्षहरूमा दक्ष जनशक्तिको आयातको ग्राफ बढ्दै गएको छ । नेपालमा २१ हजारभन्दा बढी दक्ष श्रमिक विदेशबाट ल्याइएकोे सरकारी तथ्याङ्कले देखाउँछ ।
श्रम तथा सुरक्षाजन्य विभागका अनुसार पछिल्लो आठ वर्षमा नेपालमा २१ हजार आठ सय ११ जना दक्ष विदेशी श्रमिक विभिन्न मुलुकबाट आएका छन् । जसमा पुरुष १९ हजार एक सय ८५ जना र महिला दुई हजार छ सय २६ जना रहेका छन् । उनीहरू एक सय १५ वटा मुलुकबाट नेपालमा आएका श्रमिक हुन् ।
नेपालमा आउने दक्ष श्रमिकहरू सार्क मुलुक, एसिया, युरोप, अमेरिका र अफ्रिका महादेशबाट समेत आएको देखिन्छ । विभागको तथ्याङ्कलाई हेर्दा बेलायतका छ सय २७ जना, अमेरिकाका चार सय ७० जना, दक्षिण कोरियाका तीन सय ५८ जना, जापानका तीन सय ३६ जना, भारतका दुई सय ९३ जना, अस्ट्रेलियाका एक सय ६८ जना, श्रीलंकाका एक सय ४२ जना, जर्मनीका एक सय ३३ जना, फ्रान्सका एक सय १७ जना, फिलिपिन्सका एक सय नौ जना, इटालीका ९८ जना, र बंगलादेशका ७८ जना श्रमिकले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, क्यामरुनका ६६ जना, क्यानडाका ९१ जना, ब्राजिलका ३७ जना, फिनल्यान्डका ४१, घानाका ३३ जना, डेनमार्कका २२ जना, इजिप्टका २२ जना, केनियाका सात जना, उत्तर कोरियाका आठ जना र काजकस्तानका १० जना श्रमिकले श्रम स्वीकृति लिएका छन् ।
काठमाडौँ-तराई-मधेश द्रूतमार्गका दुई परियोजनामा ३ सय ४० विदेशी कामदार कार्यरत छन्। यसैगरी पोली चाङ्डा इन्जिनियरिङ कम्पनी चाइनामा २ सय २४, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनमा १ सय ९, कञ्चनपुर-कमला रोड प्रोजेक्टमा १ सय १६, सञ्जिन खोला हाइड्रोपावरमा ८९ र चाइना ओभरसिज इन्जिनियरिङमा ११ जना कार्यरत रहेको विभागले जनाएको छ।
उद्योगतर्फ, हिमालयन एयरलाइन्स, हुवासिन नारायणी सिमेन्ट, होङ्सी सिमेन्ट, ब्रिटिस स्कुल, लिंकन स्कुल, हुवावे टेक्नोलोजी आदिमा विदेशी कामदार कार्यरत छन्। यी सबै परियोजनामा विदेशी २० प्रतिशतभन्दा बढी कार्यरत रहे पनि श्रम मन्त्रालयले अनुगमन गर्न सकेको छैन।