शनिबार, कात्तिक १ गते २०८३
  • यो साता चर्चामा :
  • रविन्द्र र धबलशमसेर राणाविरुद्ध पक्राउ पूर्जी जारी हुन सक्ने


    हुलाक प्रेस

    • शुक्रबार, जेठ ३० २०८२०१:५१
    रविन्द्र र धबलशमसेर राणाविरुद्ध पक्राउ पूर्जी जारी हुन सक्ने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारीको प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ । 

    अदालत स्रोतका अनुसार सम्भवतः आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परी हाजिरी जमानीमा छुटेर उनीहरू फरार रहेका छन् । उनीहरू अदालतमा बयानका लागि पनि उपस्थित भएका थिएनन् । 

    मिश्र र राणा सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराएका थिए । 

    बिहीबार अदालतबाट जारी दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक आदेशको पूर्ण पाठमा मिश्र र राणाबारे केही उल्लेख गरिएको छैन । ‘अभियोग दर्ता भएको दिन स्रेस्तेदारबाट नै उपस्थित गराइएका प्रतिवादीहरूलाई बयानको लागि इजलास समक्ष पेस गर्नु र अनुपस्थित रहेका र फरार प्रतिवादीहरूको हकमा कानुन बमोजिमको पक्राउ पुर्जी जारी गर्नु भनेर आदेश जारी भएको थियो,’ श्रोतले भन्यो । 

    मिसिल अहिलेसम्म बयान र थुनछेकको लागि व्यस्त रहेकोले पक्राउ पुर्जी जारी हुन नसकेको स्रोतको भनाइ छ । फाँटले पुर्जी जारीको प्रक्रिया अघि बढाइसकेको छ ।


    प्रतिक्रिया दिनुहोस