बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने


    हुलाक प्रेस

    • बुधबार, पुस ४ २०८०१२:५३
    युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने
     
    गाजा पट्टी (प्यालेस्टनी अधिनस्थ क्षेत्र) । गाजा क्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जाने भएका छन् । 
     
    इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामको लागि सहमत हुन इच्छुक रहेको बताएपछि उनको इजिप्ट यात्राबारे जानकारी आएको हो ।
     
    संयुक्त राष्ट्रसङ्घले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्रमा सहायता बढाउन सक्ने नयाँ युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ ।
     
    गाजा पट्टीमा इजरायली आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको हमासको स्रोतले बुधबार जनाएको छ ।
     
    कतारस्थित हमासका नेता इस्माइल हनियाहले इजिप्टका गुप्तचर प्रमुख र अन्यसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाईका लागि सम्झौता तयार गर्न’ वार्ता गर्न ‘उच्चस्तरीय’ प्रतिनिधिमण्डलको नेतृत्व गर्ने अपेक्षा गरिएको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ ।
     
    इजरायली नेताहरूले गाजामा बन्धक बनाइएका १२९ जना बन्धकहरूको रिहाईका लागि बढ्दो मागहरूको सामना गरिरहेका छन् र मङ्गलबार उहाँले हमाससँग वार्ताको टेबुलमा फर्कने सङ्केत दिएका छन् ।
     
    इजरायली राष्ट्रपति इसाक हर्जोगले आफ्नो देश बन्धकहरूको रिहाईका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको बताएका छन् ।
     
    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना गुप्तचर प्रमुखलाई ‘हाम्रा बन्धकहरूलाई मुक्त गर्न’ दुई पटक युरोप भ्रमणमा पठाएको बताएका छन् । 
     
    यसैबीच प्यालेस्टिनी लडाकू समूह इस्लामिक जिहादले मङ्गलबार भिडियो फुटेज सार्वजनिक गर्दै गाजामा आफ्नो हिरासतमा रहेका दुई जना बन्धकलाई जीवितै देखाइएको दाबी गरेको छ ।
     
    गत अक्टोबर ७ मा गाजाबाट हमासका लडाकुहरू बाहिर निस्केपछि युद्ध सुरु भएको र इजरायलमा करिब एक हजार १४० जनाको मृत्यु भएको इजरायली तथ्याङ्कले देखाएको छ ।
     
    गाजाको हमासको नेतृत्वमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले १९ हजार ६६७ जनाको ज्यान गएको र त्यसमा अधिकांश महिला र बालबालिका रहेको बताएको छ । (रासस/एएफपी) 


    प्रतिक्रिया दिनुहोस