काठमाडौँ । उमेर नपुगेका व्यक्तिलाई वृद्धाभत्ता दिएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्षसहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
आयोगले सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन गाविस अध्यक्ष श्रीवास्तव, सचिव सावितराय कुर्मी, अशोककुमार श्रीवास्त र भत्ता बुझ्नेहरू साहजिमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरीराम अहिर, बारी खाँ, मोति भुजुवा र सन्तराम बडहीविरूद्ध पनि मुद्दा दर्ता गरेको हो ।
उनीहरुले उमेर ढाँटेर गैरकानुनी रुपमा २०५७ देखि २०७२ सम्म भत्ता लिएको पाइएको आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले जानकारी दिए ।
उनीहरुले जन्म मिति र जारी मिति बेवास्ता गर्दै ज्येष्ठ नागरिक, दलित, एकल महिलाको शिर्षकमा ६ लाख ५६ हजार ७ सय रूपैयाँ भ्रष्टाचार गरेको दाबी गरेका हो ।
आयोगले वडाअध्यक्ष श्रीस्वातवसँग ६३ हजार ६ सय, सचिव कुर्मीसँग ६ लाख ५६ हजार र सचिव श्रीवास्तवसँग ५८ हजार रूपैयाँ विगो दाबी गरेको छ ।