शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • बालविवाह गराएको आरोपमा बेहुली, बेहुला, बेहुलीकी आमासहित पाँचजना पक्राउ


    हुलाक प्रेस

    • बुधबार, पुस ४ २०८००५:२४
    बालविवाह गराएको आरोपमा बेहुली, बेहुला, बेहुलीकी आमासहित पाँचजना पक्राउ

    मध्यविन्दु (नवलपरासी) ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलबार राति पक्राउ गरिएको हो ।

    “बालविवाह गराएको सूचनाका आधारमा विवाह गर्ने र गराउनेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ”, उनले भने ।

    छोरीलाई दबाब दिएर विवाह गराउने आमा, बालिकाका दुई सानीआमा, सानोबुवा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
     
    गत मङ्सिर २९ गते बालिकालाई उनकी सानिआमाको घर लगेर दबाब दिएर  विवाहका लागि मन्जुर गराइएको प्रहरी कार्यालयमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा पाँचै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।

    पक्राउ गरिएकामाथि मुलुकी फौजदारी अपराधसंहिता, २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया थालिएको उनले बताए । उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने गराउनेलाई तीन वर्ष कैद र रु ३० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
    रासस


    प्रतिक्रिया दिनुहोस