काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था छ । सूचनामा भनिएको छ, “पुनर्योगका लागि परीक्षार्थीहरूलाई अनलाइनमार्फत् आवेदन गर्न सकिने व्यवस्था गरिएको छ ।“
“परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि यस कार्यालयको वेबसाइटमा गई पुनर्योग फारम भरी आवेदन गर्न सक्ने छन् । सोसम्बन्धी सूचना नतिजा प्रकाशन भएपछि राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको वेवसाइटबाट हेर्न सकिने छ ।“
त्यस्तै उमेर, नाम र थर सच्याउका लागि पनि परीक्षार्थीले पाउने छन् । सूचनामा भनिएको छ, “परीक्षार्थीहरूको उमेर, नाम र थर कुनै कारणले फरक परेमा नतिजा प्रकाशन भएको पाँच वर्षभित्र प्रवेशपत्रअनुसार र प्रवेशपत्रमा समेत फरक परेको अवस्थामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चाअनुसार सच्याउन सकिने व्यवस्था रहेकाले सोहीअनुसार निवेदन दिई सच्याउन सकिने छ ।“
बोर्डले नतिजा अस्पष्ट भएको अवस्थामा के गर्ने भनेर पनि सूचना दिएको छ । “नतिजा प्रकाशन हुँदा परीक्षार्थीको कुनै कारणले सबै वा कुनै विषयमा नतिजा नखुलेको अवस्था रहेमा यस कार्यालयको वेवसाइटमा रहेको नतिजा खुलाउने निवेदन डाउनलोड गरी कुनकुन विषयको नतिजा नखुलेको हो सोसम्बन्धी विवरण भरी प्रवेशपत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमार्फत् इमेलबाट वा सोझै यस कार्यालयमा निवेदन दिनुपर्ने छ ।“