शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • सबै परिवारको हत्या गर्ने योजना बनाएर घरबाटै चक्कु लिए एक हप्ताअघि ससुराली पुगेका थिए राजेन्द्र !


    हुलाक प्रेस

    • आइतबार, असार २२ २०८२०३:४६
    सबै परिवारको हत्या गर्ने योजना बनाएर घरबाटै चक्कु लिए एक हप्ताअघि ससुराली पुगेका थिए राजेन्द्र !

    काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीका गिरी परिवारका चार जनाको गए राति सामूहिक हत्या भएको छ । घटनामा स‌‌लग्न राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

    भोजपुर नगरपालिका–२, हैलौछाका ३० वर्षीय ज्वाइँ राजेन्द्र राईले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, १५ वर्षीया श्रीमती मनीषा गिरी र आठ वर्षीय सालो सपन गिरी गरेर चार जनाको सामूहिक हत्या भएको भोजपुर प्रहरीले जनाएको छ । परिवारका सदस्यमध्ये दुई छोरी र एक छोरा घर बाहिर रहेको प्रहरीले जनायो । 

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा राजेन्द्रले सबैको हत्या गरेको स्वीकारेका छन् । प्रहरी सामु दिएको बयानमा पक्राउ परेका राजेन्द्र राईले आफूमाथि राति सुतेका बेला आक्रमण भएपछि प्रतिकारमा सासु ससुरासहितको हत्या गरेको बताएका छन् । प्रहरीका अनुसार चार जनाको हत्या गरेपछि उनी आफैले फोन गरेर प्रहरीलाई खबर गरेका थिए । घटना लगतै प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी सो ठाउँमा पुग्दा राजेन्द्र पनि घाइते भएको पाइएपछि उपचारका लागि अस्पताल लगिएको छ ।

    प्रारम्भिक बयानमा राजेन्द्रले सबैको हत्या आफैले गरेको स्वीकार गरेपछि प्रहरीले सो बारेमा थप अनुसन्धान गर्दैछ । भोजपुर प्रहरीका प्रमुख डीएसपी युवराज तिमल्सिनाले उनीमाथि थप अनुसन्धान जारी रहेको बताए । ‘‘प्रारम्भिक बयानमा राईले आफूमाथि आक्रमणको प्रयास भएपछि सामूहिक हत्या गरेको भनेका छन् । तर, थप बुझ्दै छौँ,’’ उनले भने ।

    प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा राजेन्द्रले मनीषासँग प्रेम विवाह गरेका थिए । सामाजिक सञ्जाल फेसबुक मार्फत चिनजान भएपछि उनीहरुको प्रेम विवाहमा परिणत भएको थियो । शुरुमा परिवारले मनिषाको विवाह गराउन मानेका थिएनन् । मनीषाको उमेर १४ वर्ष रहेको र राजेन्द्र ३० वर्षका थिए । गिरी परिवारले मनीषाको १४ वर्षको कलिलै उमेरमा विवाह गर्न अस्वीकार गरेका थिए । पछि परिवार पनि राजी भएको देखिएको छ । 

    पछिल्लो एक महिनादेखि राजेन्द्रसँगको खटपटपछि मनीषा माइतीघरमा बस्दै आइरहेकी थिइन् । लामो समयसम्म मनीषा नफर्केपछि राजेन्द्र एक हप्ताअघि ससुराली पुगेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ससुरालीले मनीषालाई लैजान नदिए हत्या गर्ने योजनाका साथ राजेन्द्र त्यहाँ पुगेका थिए । छिमेकीका अनुसार मनीषालाई राजेन्द्रको साथमा परिवारले पठाउन इन्कार गर्दै आइरहेका थिए । तर, राजेन्द्रले सासु र ससुरालाई मनीषालाई नपठाए जे पनि गर्न सक्ने भन्दै धम्की दिइरहेका थिए । सो कुराको जानकारी छिमेकीले पनि सुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । छिमेकीले धम्की मात्रै दिएका होलान् भन्ने ठानेका थिए । केही छिमेकीले प्रहरीलाई खबर गर्न खोजेका थिए । तर, छिमेकीले राजेन्द्रले दिएको धम्कीलाई अनदेखा गर्दा गिरी परिवारको सामुहिक हत्या हुन पुगेको देखिन्छ ।

    गाउँपालिका–२ कै वडा सदस्य प्रभा राईका अनुसार, राजेश र मनीषाबीच करिब एक वर्षअघि प्रेम विवाह भएको हो । पछिल्लो समय राजेन्द्रकी श्रीमती माइतमै बस्न थालेपछि उनीहरूको कलह सुरु भएको हो । प्रहरीको अनुसन्धानमा राजेन्द्रले हत्या गर्न प्रयोग भएको चक्कु राजेन्द्र आफैँले घरबाट लगेका खुलेको छ ।

    अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘‘राजेन्द्रले अहिले जे बोले पनि उनी श्रीमती आफूसित नफर्किए सबैको हत्या गर्ने उद्देश्यले ससुराली पुगेको देखिन्छ । 


    प्रतिक्रिया दिनुहोस