काठमाडौँ । काठमाडौं । भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसीमा ठूलो बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
भोटेकोसीस्थित रसुवा–स्याप्रुबेँसी जलमापन केन्द्रमा मंगलबार (असार २४) बिहान ३ः३० बजे बाढी आइपुगेको थियो । बाढी बिहान ५ बजे त्रिशूली नदीस्थित वेत्रावतीमा आइपुगेको विभागले जनाएको छ ।
भीषण बाढीका कारण नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ भने रसुवागढी भन्सार यार्डबाट ६ जना चिनियाँ नागरिकसहित १८ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेको सूचीमा तीन जना नेपाल प्रहरी पनि परेका छन् ।
पछिल्लो १२ घण्टाको मौसमी गतिबिधि हेर्दा तिब्बतको केरुङ क्षेत्र र आसपासमा भारी वर्षा भएको पनि देखिदैन । साथै बाढीको सम्भावना पनि नदेखिएको अबस्थामा सो क्षेत्रबाट कसरी बाढी गयो भनेर अध्ययन भइरहेको छ ।
सम्भावित कारण !
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि उक्त क्षेत्रमा भीषण वर्षा भएको नदेखिएको बताएका छन् । “विगत १२ घण्टाको मौसमी गतिविधि स्याटेलाइट तस्बिरहरूमा हेर्दा, तिब्बतको भूभागमा पर्ने केरुङ जलाधार क्षेत्रमा त्यस्तो भीषण वर्षा भएको देखिन्न,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
रसुवामा ठूलो बाढीका विभिन्न कारण हुन सक्ने उनले उल्लेख गरेका छन् । “त्यसैले रसुवागढीको बाढीको प्रारम्भिक कारण हेर्दा, ठूलो वर्षासँगै थप अन्य तीन कारण हुन सक्छन् । १) हिमताल विस्फोटन, २) हिमपहिरो वा ३) भीषण पहिरो जसले प्राकृतिक बाँध निर्माण हुन गई नदीको बहावलाई केही बेर रोक्यो र पछि बाँध फुटेर भीषण बाढीको रूप लियो । बाँकी आउँदो समयमा थाहा होला,” उनले लेखेका छन् ।