काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ स्थित चुमजुङ खोलामा बाढी आएको छ । मंगलबार (असार २४ गते) साँझ साढे ५ बजे एक्कासि ठूलो बाढी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विष्णुप्रसाद भुसालले जानकारी दिए ।
सीडीओ भुसालका अनुसार, बाढीले चौरीगोठमा जाने काठे पुल बगाएको छ । पक्की पुलमा समेत क्षति पुगेको छ ।
सीडीओ भुसाल बाढी आउनको मुख्य दुई कारण बताउँछन् । “दुई कारण हुनसक्छ । माथि (तिब्बत)तिर हिमताल फुटेको हुनसक्छ वा ठूलो पानी परेको पनि हुनसक्छ,” सीडीओ भुसालले भने ।
बाढी आएको समयमा सदरमुकाममा पानी नै नपरेको सीडीओ भुसालले जानकारी दिए । “यो तिब्बत क्षेत्रबाट आएको बाढी हो, बाढी आएको समयमा यतातिर (सदरमुकाम) पानी नै परेको थिएन” उनले भने ।