शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दाउन्नेमा पहिराले नारायणघाट बुटवल सडक अवरुद्ध


    हुलाक प्रेस

    • बुधबार, असार २५ २०८२०१:३७
    दाउन्नेमा पहिराले नारायणघाट बुटवल सडक अवरुद्ध

    नवलपुर नवलपरासी ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवलखण्डको दाउन्नेमा पहिरोले सडक बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । 

    गए रातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिक बर्दघाट–४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तका अनुसार पहाडमाथिबाट पहिरो खस्दा सडकको केही भागसमेत बगेको छ । 

    पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१क ५८२७ नम्बरको मालवाहक ट्रक पहिरोका कारण सडकको बीचमा फसेको उनले बताए । 

    “पहिरोले ट्रकसमेत केही पुरिएको छ, केही सडक बगेको छ, केही सडक चर्किएको अवस्थामा छ”, उनले भने, “अहिले पानी पर्न बन्द भएका कारण स्काभेटर प्रयोग गरेर पहिरोमा फसेको ट्रक निकाल्ने र पहिरो सफा गर्ने काम सुरु भएको छ ।” 

    सडकमा करिब ५० मिटर पहिरो खसेको पन्तले बताए । पहिरो हटाउनका लागि सडक योजनाका कर्मचारी, प्रहरी तथा सुरक्षाकर्मी खटिएको उनको भनाइ छ । चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य बर्सा हुँदा यातायात अवरुद्ध हुने गरेको छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस