शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • मुस्ताङमा सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति


    हुलाक प्रेस

    • बिहीबार , असार २६ २०८२१०:३६
    मुस्ताङमा सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

    मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको अनुगमन थालिएको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष, सदस्यसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिले संयुक्त रूपमा त्यहाँ बाढीले पुर्‍याएको क्षति यकिन गर्न बुधबार (असार २५) अनुगमन गरेका छन् ।

    बाढीबाट तीन पक्कीसहित गाउँपालिकाको शाखा सडकमा कुल सात पुलमा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट डेढ करोड रुपैयाँभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए ।

    प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार, मंगलबार साँझ लोमान्थाङ—४, चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का—भार्सा जोड्ने पक्कीसहित तीन पक्की मोटरेबल पुल, एक फलामे र तीन काठेपुलमा पूर्ण क्षति पुगेको छ । बाढीबाट मानवीय र पशुचौपाया भने क्षति नभएको जनाइएको छ ।

    अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड र अरू शाखा सडक जोड्ने पक्की र अस्थायी पुलमा क्षति पुगेको बताए । बाढीले पुलमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उनले जानकारी दिए ।

    उपल्लो मुस्ताङको लोमान्थाङ–४, चुम्जुङ गाउँनजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुन सक्ने आशंका गरिएको छ । पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको अध्यक्ष गुरुङले बताए ।

    “हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्,” उनले भने, “यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो, हिमताल फुट्नु ।”

    लोमान्थाङ–२, छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनुका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए । छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा संकलन गर्नेहरूले बताएका उनको भनाइ छ ।

    “यहाँ बाढी आउनुको मुख्य कारण हिमताल नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ । बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन,” उनले भने ।

    यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौँ हिमताल रहेको जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्च लेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमतालमा क्षति पुर्‍याउने सम्भावना रहेको उल्लेख गरे । रासस


    प्रतिक्रिया दिनुहोस