बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • धरानमा लागु औषध बारे सचेतना गर्न १० सदस्यीय संयन्त्र गठन


    हुलाक प्रेस

    • बिहीबार , असार २६ २०८२१०:२५
    धरानमा लागु औषध बारे सचेतना गर्न १० सदस्यीय संयन्त्र गठन

    धरान । लागु औषध दुर्व्यसन नियन्त्रण तथा न्यूनीकरणका लागि धरानमा दश सदस्यीय संयन्त्र गठन भएको छ । बिहीबार धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले वडावासीहरूको भेला मार्फत दश सदस्यीय संयन्त्र घोषणा गरे । 

    धरान ८ नम्बर वडा सचिव भूपाल निरौलाको संयोजकत्वमा बनेको संयन्त्रमा जनप्रतिनिधि वडा सदस्य रबिन श्रेष्ठ, धरान बरगाछी प्रहरी पोस्टका प्रमुख हवलदार गोविन्द परियार, बमजन टोल विकास समितिका अध्यक्ष भगीरथ लिम्बू, लाङ्घाली टोल विकास समितिका अध्यक्ष महेन्द्र श्रेष्ठ, नागरिक समाजका तर्फबाट गङ्गाप्रसाद लिम्बू र सुवास श्रेष्ठ, बरगाछी महिला समूहका अध्यक्ष उषा थापा क्षेत्री, ल्याबोरेटरी माविका छात्रा अनुसा महरा र सहिद स्मृति माविका छात्र ईश्वर नेवार सदस्य छन् ।

    संयन्त्रले धरान ८ मा लागु औषध दुर्व्यसन नियन्त्रण तथा न्यूनीकरणका लागि विद्यालयहरू र समुदाय लक्षित सचेतनामूलक कार्यक्रमहरू गर्ने र वडामा लागु औषध बेचबिखन तथा सेवन न्यूनीकरण अभियान सञ्चालन गर्नेछ । 

    कार्यक्रममा मजदुर नेता भीमज्वाला राईले लागु औषध नियन्त्रण ऐन २०३३ मा भएको सात वटा कसुरहरू र सजाय सम्बन्धी १९ वटा कानुनी व्यवस्थाका बारेमा सहभागीहरूलाई जानकारी गराए । एमाले कोसी प्रदेश सदस्य समेत रहेका राईले ऐनमा लागु औषध कारोबार र सेवन गर्नेलाई अधिकतम १५ वर्षसम्म कैद सजाय र २० लाखसम्म जरिवाना हुने व्यवस्था रहेको बताए । 

    धरान ८ मा आधारभूत बस्तीहरू अधिक रहेको र त्यस्ता बस्तीहरूमा लागु औषध कारोबारीहरू र प्रयोगकर्ताहरू हुने गरेकाले संयन्त्रको सक्रियताले न्यूनीकरण हुनेमा विश्वास व्यक्त गरे । समाजमा हुने लागु औषध, झैँ झगडा, घरेलु हिंसा, चोरी चकार जस्ता सामाजिक समस्याहरू न्यूनीकरण गर्नमा समेत प्रहरी समुदाय सम्मिलित संयन्त्र प्रभावकारी हुने राईले बताए । 

    कार्यक्रममा धरान बरगाछी प्रहरी पोस्टका प्रमुख हवलदार गोविन्द परियारले कोसी प्रदेश प्रहरी कार्यालयको योजना अनुसार प्रदेशका सबै पालिकाहरूमा प्रहरी समुदाय साझेदारीमा लागु औषध नियन्त्रणका लागि संयन्त्र बनाएर काम गर्ने उद्देश्य अनुसार धरानको ८ नम्बर वडामा कार्यक्रम गरिएको बताए । 

    कार्यक्रममा धरान ८ स्थित १५ वटै टोल विकास समितिका संयोजक दोर्पध्वज राई, सहिद स्मृति माविका प्रधानाध्यापक राम विष्ट जनप्रतिनिधि सावित्री परियार लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा समुदायका विभिन्न सङ्घसंस्थाका व्यक्तित्वको सहभागिता रहेको थियो ।

    जनप्रतिनिधिहरू अध्यक्ष धनबहादुर राई, सदस्यहरू सावित्री परियार, देवीप्रसाद पोखरेल देवी लामा र रबिन श्रेष्ठ सहित १५ वटै टिएलओका प्रतिनिधिहरू, महिला समूह, आमा समूह, नागरिक समाज तथा समसामयिक र संस्थागत विद्यालयका प्रतिनिधिहरू, धरान ८ बरगाछी प्रहरी पोस्टका प्रमुख लगायतका व्यक्तित्वहरूको सहभागी रहेको थियो ।


    प्रतिक्रिया दिनुहोस