शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन


    हुलाक प्रेस

    • शनिबार, असार २८ २०८२१०:००
    पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

    काठमाडौँ । पूर्वनिर्वाचन आयुक्त  इला शर्माको  निधन भएको छ । उनको शनिबार साँझ हृदयाघातका कारण निधन भएको हो ।

    साँझ नर्भिक अस्पतालमा शर्माको निधन भएको पूर्वपत्रकार अमृता लम्सालले जानकारी दिएकी छन् । उनको दाहसंस्कार भोलि गरिने जनाइएको छ ।

    उनले लामो समयसम्म द राइजिङ नेपालमा पनि काम गरेकी थिइन् ।  पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर समेत रहेकी थिइन् । 

    शर्मासँग त्रिभुवन विश्वविद्यालयबाट एलएलएम, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम युनिभर्सिटी अफ हल, युकेइन इन्टरनेसनल बिजनेस लबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययन, कानुन, मिडिया, जनसम्पर्क, शिक्षा र विकास क्षेत्रसहित विभिन्न क्षेत्रमा काम गरेको ३५ वर्ष बढी अनुभव छ । 

    शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षता गरेकी थिइन् । उनले काठमाडौँ विश्वविद्यालय, स्कुल अफ ल र ओस्लो विश्वविद्यालयको नर्वेजियन सेन्टर फर ह्युमन राइट्ससँगको सहकार्यमा नेपालको निर्वाचन आयोगले प्रदान गरेको एकेडेमिक मास्टर्स कोर्सको डिजाइन र अध्यापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

    शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी थिइन्। विभिन्न आईएनजीओको अन्तर्राष्ट्रिय वकालत नेटवर्कमा संलग्न शर्माले संयुक्त राष्ट्रसङ्घमा मानव अधिकार, अन्तर्राष्ट्रिय व्यापार र विकासका मुद्दामा रणनीति र कार्ययोजनामा रहेर काम गरेको अनुभव संगालेकी थिइन् ।

    उनले व्यापार, अर्थशास्त्र र वातावरण क्षेत्रमा समेत एक दशकभन्दा बढी योगदान दिएकी थिइन् । उनका दुई छोरी रहेका छन् । 


    प्रतिक्रिया दिनुहोस