काठमाडौं । छाउगोठमा बसेकी युवतीको सर्पले डसेर मृत्युभएपछि कन्चनपुरको कृष्णपुर नगरपालिकाले १५ दिनभित्र नगरभित्र रहेका छाउगोठ भत्काउन निर्देशन दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए/नभएको निरीक्षण गर्न १/९ सम्मका सबै वडा कार्यालयलाई निर्देशन दिएका हुन् ।
कृष्णपुर १ मा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईको गत शनिबार सर्पले टोकेर मृत्युभएको थियो ।
'यस कृष्णपुर नगरपालिकाअन्तर्गत केही वडाहरूमा अझै पनि छाउपडी प्रथा कायम रही गोठसमेत यथावत भएकोले आ-आफ्नो वडाभित्र रहेका छाउपडी गोठहरू निरीक्षण गरी १५ दिनभित्र छाउपडी गोठहरू भत्काउने र उक्त कार्यकान्वयनमा नल्याए कानुनी कारबाहीसहित १० हजार जरिवाना हुने व्यहोरासमेत सम्बन्धितहरूलाई जानकारी गराउनहुन आदेशानुसार अनुरोध छु नगरपालिकाको पत्रमा उल्लेख छ ।
मुलुकी संहितामा पनि रजस्वला र सुत्केरी अवस्थामा छाउपडफमा राख्न वा अन्य कुनै भेदभाव, छुवाछूत गराउन नहुने उल्लेख गरिएको छ। यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था पनि ऐनमा रहेको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु नहुने उल्लेख छ ।