बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • घुस डिलमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न पार्टीभित्रैबाट दबाब


    हुलाक प्रेस

    • सोमबार, असार ३० २०८२०६:२३
    घुस डिलमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न पार्टीभित्रैबाट दबाब

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्नुपर्ने भन्दै पार्टीभित्रैबाट दबाब बढेको छ । तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म कुनै कदम चालेका छैनन् ।

    ओलीले विवादित अडिओबारे बिहानै मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर स्पष्टीकरण सोधिसकेका छन् । यद्यपि, प्रधानमन्त्री र मन्त्रीबीचको कुराकानीको विस्तृत विवरण बाहिर आइसकेको छैन ।

    प्रधानमन्त्रीसँगको भेटपछि मन्त्री गुप्ता मोबाइल अफ गरेर बसेका छन् । एमाले वृत्तबाटै पनि उनलाई तत्काल कारबाही गर्न दबाब परेको छ । 

    एमालेकै सांसद किरणकुमार साहले सोमबार संसदमै मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे ।  प्रतिनिधि सभाको बैठकमा उनले यस विषयमा सरकार मौन रहेको भन्दै आपत्तिसमेत जनाए ।  

    ‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ?' उनले भने, 'दुनियाँले सुनेको अडिओ सरकारले नसुनेझैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्यूलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस् ।’ 

    एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेपालखबरसँग भने, ‘यस विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएर सरकारलाई तत्काल एक्सन लिन भनिसकेको छ। प्रधानमन्त्रीले पनि गम्भीरतापूर्वक लिनुभएको छ । उहाँले नै आवश्यक कारबाही गर्नुहुन्छ। भरेसम्म केही आउला ।’

    २०८१ असार ३१ गते उनी सामान्य प्रशासन मन्त्री नियुक्त भएका हुन् । उनी पर्सा-३ बाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद हुन् ।

    के हो घुस डिल प्रकरण?  
    २०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकमसमेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो ।

    मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग,कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो । 

    उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरीसमेत परेको छ । यसबारे अख्तियारले समेत छानबिन गरिरहेको सूचना पाएपछि मन्त्री राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। तर, आफूले कुनै गल्ती नगरेको मन्त्री गुप्ताको दाबी छ ।

    ‘यसमा मेरो कुनै संलग्नता छैन, मैले कसैको एक रुपैयाँ खाएको पनि छैन । कसैले मलाई दिएको पनि छैन । पैसा राखेको फोटो बाहिर ल्याइएको छ, जुन टेबल हो, त्यस्तो टेबल पनि मेरो मन्त्री क्वार्टरमा छैन,’ उनले दाबी गरे, ‘कसले दियो व्यक्तिको पनि नाम उल्लेख छैन । कोही त व्यक्तिले दिएको होला पैसा । अब यो केही कुन बेला कुन प्रसङ्गमा रेकर्ड गरिएको छ, तर मैले त्यो सुरुवातमा त्यस्तो बोलेकै छैन। त्यो बोल्ने औचित्य र आवश्यकतै छैन। सरुवाको कुरा गरिया छ, तर, न मैले कसैलाई तानेको छु, न कसैलाई पठाएको छु। केही गरेकै छैन ।’ 


    प्रतिक्रिया दिनुहोस