शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • पहिरोले बीपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध


    हुलाक प्रेस

    • मंगलबार, असार ३१ २०८२०९:०५
    पहिरोले बीपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

    काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ ।

    गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

    कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा बाढी आई कटान गरी सडक अवरुद्ध भएको हो । 

    उक्त राजमार्गको रोशी–९ स्थित खहरे खोलाको लेदो आई गएराति सडक अवरुद्ध भएको थियो । सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आएर सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए । 

    उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

    उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो ।

    रातभर जेसीभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो । यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो । रासस


    प्रतिक्रिया दिनुहोस