काठमाडौँ । आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बोलाइएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यलय च्यासलमा बैठक सुरु भएको हो ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीसहित विविध विषयमा छलफल र निर्णय हुनेछन् । विधान संशोधनको प्रस्तावका खाकाहरू उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ ।
पौडेललाई यस अघि नै विधान संसोधन समितीको संयोजक तोकिएको थियो । आजको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिवल शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने पनि गौतमले जानकारी दिए ।
त्यस्तै आजको बैठकले भोली (साउन २ गते) बस्ने पार्टी पोलिटब्युरोको र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका कार्यसूची पनि तय गर्ने छ । एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।