बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मन्त्री अधिकारीलाई संकट: उता ३२ लाख घुस बुझेको अडिओ, यता आफैँले पठाएका मालपोत हाकिम पक्राउ


    हुलाक प्रेस

    • बिहीबार , साउन १ २०८२०३:४३
    मन्त्री अधिकारीलाई संकट: उता ३२ लाख घुस बुझेको अडिओ, यता आफैँले पठाएका मालपोत हाकिम पक्राउ

    काठमाडौँ । घुस डिल सम्बन्धी एउटा प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन् ।

    त्यही प्रकरणमा ३२ लाख रूपैयाँ बिचौलियामार्फत बुझेको दाबीसहितको अडिओ सार्वजनिक हुँदा पनि भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले न आफैँले राजीनामा दिएका छन्, न त प्रधानमन्त्रीले नै एक्सन लिएका छन् ।

    भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर हडप्नका लागि ३२ लाख रुपैयाँ घुस बुझेको दाबी गरिएको दोस्रो अडिओ सार्वजनिक भएको छ । एमाले नेता खेमबहादुर पुनलाई भूमि आयोग, कास्कीको अध्यक्ष नियुक्त गर्ने र मालपोत कार्यालय, कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरूवा रोक्ने भूमाफियाको योजनाअन्तर्गत भएको कुराकानी अडिओमा सुन्न सकिन्छ । 

    बिचौलिया भनेर चिनिएका सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घुस रकम लिएको अडिओमा भनिएको छ । उक्त घुस लेनदेनमा मन्त्री अधिकारीका छोरा मनोज अधिकारी, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलसमेत संलग्न रहेको अडिओमा उल्लेख गरिएको छ ।

    लामाले अडिओमा तत्कालीन सचिव पोखरेलले पाँच लाख घुस बुझेको भनेका छन् । मन्त्रीद्वय गुप्ता र अधिकारीदेखि सचिव पोखरेलसमतले लिएको घुस, उनीहरूको पोखरा घुमघामको खर्च समेत गरेर डेढ करोड रूपैयाँ गइसकेको उनको दाबी छ ।

    मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत भूमि व्यवस्थामन्त्री अधिकारीले जेब्राको झोलामा पैसा बुझेको लामाको दाबी छ । उनले अडिओमा भनेका छन्, ‘रामचन्द्रलाई जेब्रा झोलामा ३२ लाख रुपैयाँ दिएको हो, नोट नम्बर सबै टिपेर । उसले लगेर बुझायो । मैले ट्रस्ट मनोजलाई गर्ने हो । मनोज साथी हो, मनोजले पुष्टि गर्‍यो, हो भन्यो। रामचन्द्रले बुझाएकै हो भन्ने थाहा छ किनकि म आफैं बाइकमा थिएँ । उसलाई भित्र पठाएँ, म बाहिर थिएँ। ऊ मन्त्री क्वार्टरबाट खाली आयो । उसले मन्त्री क्वार्टरको दुलोमा लुकाएन होला ।’

    अडिओमा लामाले मन्त्री अधिकारीसँग भेटेको पनि दाबी गरेका छन् । ‘हिजो भूमिमन्त्रीसँग भेटघाट भएको थियो मेरो । तपाईं किन पहिल्यै नआएको? तपाईंको नाम मात्रै सुनेको हो मैले सुजन भाइ, तपाईं त मेरा सबै भाइहरूसँग नजिक, तपाईं त मेरो परिवारजस्तै रहेछ, तपाईं पहिला किन मसँग भेट्न आउनुभएन ? तपाईंले खेम पुन कि खेम पुन भनी अडान लिएको भए, यै कुरा पाँच दिन अगाडि भनेको भए म खेम पुनलाई गरिदिन्थेँ भनेर मन्त्रीले अनिल मरासिनीका अगाडि भन्नुभयो मलाई,’ अडिओमा लामाले भनेका छन् ।


    प्रतिक्रिया दिनुहोस