काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८१–८२ मा आफ्नो कार्यसम्पादनमा ऐतिहासिक फड्को मारेको छ । विभागले स्थापनाकालदेखिको १५ वर्षमा दायर गरेका कुल मुद्दाको बिगोभन्दा ५ गुणा बढी रकमको मुद्दा यही आर्थिक वर्षको हालसम्ममा दायर गरेको हो ।
विभागले सार्वजनिक गरेको प्रगति विवरणअनुसार, स्थापना भएको १५ वर्षमा (आ.व.) २०६६–६७ देखि २०८०–८१ सम्म) कुल १०१ वटा मुद्दामा करिब १४ अर्ब रुपैयाँ बिगो माग दाबी गरिएको थियो । तर, चालु आर्थिक वर्षमा मात्रै २० वटा मुद्दा विभिन्न जिल्ला अदालतमा दायर भएका छन्, जसमा ८० जना व्यक्ति र २१ वटा संस्थाविरुद्ध ७८ अर्ब १३ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ ।
विभागले उजुरी फर्स्योटमा पनि कीर्तिमानी कायम गरेको छ। विगतका वर्षमा वार्षिक अधिकतम ५६० वटा उजुरी फर्स्योट हुने गरेकोमा यस आर्थिक वर्षमा हालसम्म ८८० वटा उजुरी फर्स्योट भइसकेको विभागको दाबी छ । जुन सुरुमा बाँकी रहेका उजुरीको करिब ५० प्रतिशत हो ।
विभागमा स्थापनाकालदेखि हालसम्म ४ हजार ३ उजुरी प्राप्त भएकोमा २ हजार १५० उजुरी फर्स्योट भएको विभागको तथ्याङ्क छ । विभागले यस अवधिमा ४८ अर्ब, ६ अर्ब, ४ अर्ब जस्ता ठुला बिगो भएका जटिल प्रकृतिका कसुरलाई अनुसन्धानको दायरामा ल्याएको जनाएको छ । बहुमूल्य धातुको अवैध कारोबार, तस्करी, सङ्गठित अपराध र अन्तरदेशीय अपराधसँग सम्बन्धित मुद्दाहरूलाई प्राथमिकतामा राखी अनुसन्धानलाई तीव्रता दिइएको विभागले जनाएको छ ।
विभागले चालु आर्थिक वर्षमा विनियोजित बजेटको तुलनामा चालुतर्फ ८६.३१ प्रतिशत र पुँजीगत तर्फ ८१.९९ प्रतिशत बजेट खर्च भएको जनाएको छ । यसका साथै, विशेष अदालतबाट फैसला भई जफत भएको १ करोड २७ लाखभन्दा बढी रकम सरकारी कोषमा दाखिला गरेको जनाइएको छ ।