काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गत वर्ष भएको सौर्य एयरलाइन्सको सीआरजे–२०० (९एन–एएमई) विमान दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित पाँच सदस्यीय विमान दुर्घटना अनुसन्धान आयोगले करिब एक वर्षको विस्तृत अनुसन्धानपछि प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा पाइलटले धावनमार्गबाट टेकअफ गर्दा जहाजको तौल र स्पिडको सन्तुलन नमिलेको उल्लेख छ ।
सबै मर्मत ‘सी–चेक’का लागि २०८१ साउन ९ साउनमा पोखरा लैजाँदै गर्दा जहाज टेकअफ लिनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा एकजना पाइलट, इन्जिनियर र कर्मचारीसहित १८ जनाको ज्यान गएको थियो । क्याप्टेन मनीषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको थियो ।
जहाजले टेकअफ (उड्दा) गर्दा नै सन्तुलन गुमाएको अन्तिम प्रतिवेदनमा उल्लेख छ । जहाजले भुइँ छाडेको केही सेकेन्डमै दाहिनेतर्फ कोल्टे फर्किएर दायाँतर्फको पखेटाले ट्याक्सी वेबाटै भुइँ छुँदै बजारिन पुगेको थियो ।
प्रतिवेदनका अनुसार, ०८१ साउन ९ गते बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलबाट पोखराका लागि सी–चेकका लागि उडान भरेको थियो । तर, विमानले टेक–अफ गर्दा आवश्यकभन्दा निकै तलको ‘रोटेसन स्पिड’ र अत्यधिक तीव्र पिच गर्दा ५०/१०० फिट उचाइमै विमान असन्तुलित हुँदै पूर्वतर्फ झरेर विमानस्थल परिसरमै दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यस समयमा चालकले लिएको ‘स्पिडकार्ड’ नै गलत भएको, जुन वर्षौंदेखि जाँच नगरी प्रयोग गरिएको पाइएको छ । १८ हजार ५०० किलो तौलका लागि बनाइएको स्पिडकार्डमा नै गलत रहेको उल्लेख छ ।
आयोगले यससँगै दुर्घटना पाइलटको मात्र गल्तीका कारण नभएर कम्पनी र नियामक निकायमा व्याप्त गम्भीर लापरबाही र प्रणालीगत कमजोरीले दुर्घटनालाई निम्त्याएको बताएको छ ।
यस्तै, यात्रु र सामान व्यवस्थापनमा पनि गम्भीर लापरबाही भएको पनि प्रतिवेदनमा उल्लेख छ । विमानमा अत्यधिक सामानबिना कुनै सुरक्षात्मक बन्दोबस्त राखिएको, लुब्रिकेन्ट, औजार, र अन्य ज्वलनशील वस्तुसमेत ‘केबिन’ र ‘कार्गो’ मा छरपस्ट राखिएको प्रतिवेदनमा उल्लेख छ ।
यी सामग्री सामग्री राख्न कम्पनीसँग अनुमति नै नभएको र कम्पनीका कर्मचारी र पाइलटले देखेर पनि कुनै आपत्ति नजनाएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा उद्धार र आगलागी नियन्त्रणमा पनि विमानस्थल प्रशासन र सुरक्षाकर्मीको तयारी कमजोर भएको औँल्याइएको छ । विमानमा लागेको आगो समयमै नियन्त्रण गर्न नसक्दा धेरै शव जल्न पुगेको प्रतिवेदनमा उल्लेख छ । साथै, विमानस्थलको ‘स्ट्रिप’ क्षेत्र अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार नभएको र ‘ब्लाइन्ड स्पट’ भएका कारण उद्धार–कार्य प्रभावित भएको उल्लेख छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीले प्रयोग गर्ने स्पिडकार्ड, मर्मतको प्रक्रिया र ‘फेरी फ्लाइट’को मापदण्ड अनुगमन नगरेको, विमानस्थलको भौतिक संरचना मापदण्डअनुसार नभएको जस्ता गम्भीर कमजोरी पनि प्रतिवेदनले औँल्याएको छ ।
आयोगले तत्काल कार्यान्वयन गर्नुपर्ने तीनवटा र दीर्घकालीन सुधारका लागि विभिन्न वटा सिफारिस गरेको छ । जसमा चालक प्रशिक्षण सुधार, ‘फेरी फ्लाइट’को स्पष्ट परिभाषा र नियम बनाउने, गम्भीर प्रकारका सामान व्यवस्थापनको कडाइ, उद्धार संयन्त्रको सुधार, र विमानस्थलको संरचना सुधार गर्ने लगायतका सुझाव छन् ।
दुर्घटनाबाट विमान पूर्णरूपमा नष्ट भएको थिएन । एयर डाइनेस्टी हेलिकप्टर सेवा कम्पनीका कन्टेनर र गोदाममा समेत क्षति पुगेको थियो ।
प्रतिवेदनले दुर्घटना पाइलटको ‘ह्युमन एरर’ नभएर नेपालमा रहेको उड्डयन सुरक्षाको कमजोरी, नियमहरूको अवहेलना, र लापरबाहीपूर्ण संस्कृतिको परिणाम भएको देखाएको छ ।
दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आज हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनै पनि पूर्वधारणा वा दबाबबिना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको जनाउँदै मन्त्रालय त्यसलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने बताए । आयोगले प्रतिवेदन बुझाएलगत्तै मन्त्रालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सर्वसाधारणका लागि सार्वजनिकसमेत गरेको छ ।