काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बतायो ।
बैंक गम्भीर समस्यामा फसिसकेका बेला समेत अनुगमन अधिकृतका रुपमा खटिएका उनले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको आरोप बस्नेतमाथि छ । यसअघि सीआईबीले अनुगमनमा गएकाहरुको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । पत्र गएपछि राष्ट्रबैंकका कर्मचारीहरुबीच यो विषयले तनाव सिर्जना गराएको थियो ।