शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आरम्भ


    हुलाक प्रेस

    • मंगलबार, साउन ६ २०८२०८:५६
    दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आरम्भ

    काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात भएको छ।

    पशुपतिनाथ मन्दिर परिसरमा बढ्दो प्लास्टिक फोहोर व्यवस्थापनको समस्यालाई सम्बोधन गर्दै वातावरणीय संरक्षण र हरियाली प्रवर्द्धनमा केन्द्रित विविध कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यका साथ मंगलबार वृक्षारोपण गरेर यस अभियानको सुरुवात गरिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले वृक्षारोपण गरेर अभियानको सूरूवात गरे ।

    Unknown-16.jpg
    undefined

    अभियान अन्तर्गत सरसफाई अभियान, वृक्षारोपण कार्यक्रम, फ्रन्टलाइन कर्मचारीहरूका लागि व्यावसायिक सुरक्षा सम्बन्धी तालिम तथा सामाजिक सञ्जालमार्फत जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिनेछन् ।

    अभियानको उद्घाटनमा आयोजित वृक्षारोपण कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य सचिव सुवास चन्द्र जोशी, गौशाला प्रहरी प्रभागका डीएसपी सुकदेव खनाल, काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू, मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनाल, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल ९क्रिएसन० की महासचिव तथा क्लाइमेट स्मार्ट सिटीज परियोजनाको टिम लिडर सुजाता कोइराला, क्रिएसनका बोर्ड सदस्यहरू तथा दुबै संस्थाका टिम सदस्यहरू लगायतको उपस्थिति थियो ।

    यस अवसरमा मन्त्री पाण्डेले पशुपतिनाथ मन्दिरको सांस्कृतिक तथा आध्यात्मिक महत्वलाई विशेष रूपमा जोड दिँदै ‘दिव्य पशुपतिनाथ अभियान’लाई वार्षिक रूपमा निरन्तरता दिनुपर्ने बताए ।

    “यो अभियानले हाम्रो पवित्र सम्पदालाई स्वच्छ र हरियाली बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ । साथै, यस अभियानले हाम्रो दिगो तथा समावेशी शहरी विकासको दृष्टिकोणलाई पनि प्रतिविम्बित गर्छ,” उनले भने ।

    Unknown-17.jpg

    यस्तै मैनादेवी फाउन्डेसनका संस्थापक खनालले यस अभियान अन्तर्गत वर्षभरि सञ्चालन गरिने गतिविधिहरूको जानकारी प्रस्तुत गरे। उनले कार्यक्रमहरू समुदायको सक्रिय सहभागिता, वातावरणीय संरक्षणमा केन्द्रित रहने उल्लेख गरे, जसले पशुपतिनाथ क्षेत्रलाई स्वच्छ, हरित र दीगो बनाउने उद्देश्यलाई बल पुर्‍याउनेछ।

    क्रिएसनकी महासचिव तथा क्लाइमेट स्मार्ट सिटीज परियोजनाकी टिम लिडर सुजाता कोइरालाले प्लास्टिक फोहोर व्यवस्थापनको चुनौती र त्यसको दीगो समाधानमा जनचेतनाको भूमिकालाई विशेष जोड दिइन् ।

    उनले क्लाइमेट स्मार्ट सिटीज परियोजनामार्फत काठमाडौं र भरतपुरमा फोहोर व्यवस्थापन र वातावरणीय सचेतनालाई सशक्त बनाउने योजना रहेको जानकारी दिँदै भनिन्, “पशुपतिनाथ क्षेत्रमा जस्तै वातावरणमैत्री अभियान भरतपुरमा पनि प्रारम्भ गरिनेछ।”

    क्रियसनले लिड् गरेको क्लाइमेट स्मार्ट सिटीज परियोजना अन्तर्गत सञ्चालित ‘दिव्य पशुपतिनाथ अभियान’ वर्षभरि सञ्चालन हुने एक दीर्घकालीन अभियान हो । यसमा फोहोर व्यवस्थापन, प्लास्टिकको प्रयोग न्यूनिकरण, पुनस् प्रयोग र पुनः चक्रणलाई प्रवर्द्धन गर्ने लगायतका वातावरणमैत्री गतिविधिहरू समावेश रहेको बताइएको छ ।


    प्रतिक्रिया दिनुहोस