बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रूसमा ८.७ म्याग्निच्युडको भूकम्प, जापान, अमेरिकालगायत देशमा सुनामीको चेतावनी


    हुलाक प्रेस

    • बुधबार, साउन १४ २०८२०७:५०
    रूसमा ८.७ म्याग्निच्युडको भूकम्प, जापान, अमेरिकालगायत देशमा सुनामीको चेतावनी

    काठमाडौं । रूसको सुदूरपूर्वी तटमा रहेको कामचटका प्रायद्वीपनजिकै बुधबार शक्तिशाली ८.७ म्याग्निच्युडको भूकम्प गएको छ ।
     
    अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्प समुद्रको १९.३ किलोमिटर गहिराइमा पेट्रोपावलोव्स्क–कामचट्स्कीबाट करिब १२५ किलोमिटर दक्षिण–पूर्वमा केन्द्रित रहेको छ । 
     
    यो भूकम्प सन् २०११ को जापानको ९.० म्याग्निच्युडको भूकम्पपछिको सबैभन्दा शक्तिशाली मानिएको छ । भूकम्पका कारण रूस, जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा सुनामी चेतावनी जारी गरिएको छ । 

    जापानको मौसम एजेन्सीले प्रशान्त महासासगर तटमा १ देखि ३ मिटरसम्मका लहरहरू आउनसक्ने चेतावनी दिएको छ । यसले होक्काइडो, तोहोकु, कान्टो र वाकायामा क्षेत्रमा असर पार्न सक्छ । 

    रूसको कामचटका क्षेत्रमा ३–४ मिटर उचाइका सुनामी लहरहरू रेकर्ड गरिएको छ । सखालिनको सेभेरो–कुरिल्स्कमा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।  

    हवाईमा सुनामी लहरहरू स्थानीय समयअनुसार साँझ ७ : १७ बजे आइपुग्ने अनुमान गरिएको छ । 

    अमेरिकाको पश्चिमी तट, अलास्का र क्यानाडामा पनि सुनामी सतर्कता जारी गरिएको छ । रूसको आपतकालीन मन्त्रालयले तटीय क्षेत्रका बासिन्दालाई समुद्र किनारबाट टाढा रहन आग्रह गरेको छ ।  

    कामचटका प्रायद्वीप प्रशान्त र उत्तर अमेरिकी टेक्टोनिक प्लेटहरूको संगमस्थलमा अवस्थित छ, जुन प्रशान्त रिङ अफ फायरको भूकम्पीय जोखिम क्षेत्र हो । 

    हालसम्म हताहत वा क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन । बीबीसी


    प्रतिक्रिया दिनुहोस