शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध


    हुलाक प्रेस

    • आइतबार, साउन १८ २०८२०५:२७
    गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध
    गुल्मी । गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ ।
     
    कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका-१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
     
    त्यसैगरी जिल्लाको मुख्य सडकका रूपमा रहेको रिडी-वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ ।
     
    सो सडकअन्र्तगत सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि केहीबेर अघिदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
     
    उनका अनुसार डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक पूर्णरूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै वाग्लुङको बुर्तिबाङसम्म आवतजावत गर्ने सवारीसाधन बीच बाटोमा रोकिएका छन् ।
     
    अवरुद्ध सडक सञ्चालन गर्नका लागि प्रहरीले जोहाङ्ग खैरेनी र पूर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाउँदै उनले निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको बताए । 
     
    जिल्ला प्रशासन कार्यालय गुल्मीले वर्षाको समयमा खोला तथा तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । प्रशासनले अत्यावश्यक कामबाहेक स्थानीयलाई लामो यात्रामा ननिस्कन सूचित गरेको छ । 
     
    जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका करिब दुई सय ८० स्थानलाई  बाढी र पहिरोको उच्च जोखिम क्षेत्रका रूपमा राखिएको जनाएको छ । त्यसैगरी शनिबार अपारह्नहदेखि परेको अविरल वर्षका कारण बडिगाड खोलामा पनि पानीको बहाव बढ्दै जान थालेकाले उच्च सर्तकता अपनाउन समितिले सबैमा अनुरोध गरेको छ । 
    रासस


  • सम्बन्धित विषय:

  • # #pahiro
  • प्रतिक्रिया दिनुहोस