गाजा । गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको छ। यो जानकारी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको हो ।
यसरी कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या २१२ पुगेको छ, जसमा ९८ बालबालिका छन् । पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ र ४९१ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले भनेको छ ।
गाजामा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यसैबिच, इजरायली योजना अन्तर्गत गाजा शहरको नियन्त्रण लिने घोषणा पछि, त्यहाँका बासिन्दाहरूलाई शहर खाली गर्न ७ अक्टोबर २०२५ सम्मको समयसीमा दिइएको समाचार छ ।
शुक्रबार जारी गरिएको विज्ञप्ति अनुसार, इजरायली सुरक्षा मन्त्रिपरिषद्ले अनुमोदन गरेको नयाँ योजनाले गाजामा युद्ध अन्त्य गर्न पाँच ‘सिद्धान्तहरू’ को रूपरेखा प्रस्तुत गरेको छ । यी पाँच मध्ये एक 'गाजामाथि सुरक्षा नियन्त्रण कायम राख्नु' हो ।